पहिरोमा परेर घाइते भएकालाई सिन्धुपाल्चोकको लिदीबाट हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। पहिलो चरणमा चार जना सिकिस्त घाइतेलाई काठमाडौं ल्याइएको हो। अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि गएको छ भने चार नेपाली सैनिक र एक इञ्जिनियरलाई काठमाडौं ल्याइएको छ।
त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल पुग्दै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।
जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन्। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ।
आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए।
पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
नजिकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए।
