काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोमा परी ३८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको टेलिफोनमा बताइन्।
उनका अनुसार केही परिवारका सबै सदस्य बेपत्ता भएका छन्। घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएको उनले बताइन्।
केही घरमा मानिस सुतिरहेका र केही घरमा सामान मात्र राख्ने गरिएकोले मानिस नरहेको उनको भनाइ छ।
'जोखिमयुक्त घरमा खाजा खान गएका पुरिए'
पहिल्यै जोखिमयुक्त ती घरमा मानिस बसोबास नगरे पनि खाना खान र सामान राख्न प्रयोग गर्दै आएका थिए। शुक्रबार बिहान खाजा खाने क्रममा पहिरो गएकाले ठूलो क्षति भएको उनको भनाइ छ।
केही समयअघि जिल्ला विपत् व्यवस्थापन समितिले उक्त बस्तीका परिवारलाई त्रिपाल, खाद्यान्न लगायतका सामग्री वितरण गरेको थियो।
बस्तीका बासिन्दा बस्तीभन्दा केही पर त्रिपालमुनि बसोबास गर्दै आएका थिए। उपाध्यक्ष तामाङले भनिन्, ‘बस्तीमा मानिसहरू नबसे पनि खाना खान र सामान राख्न ती घर प्रयोग गर्दै आएका थिए।’
उद्धारमा सेना परिचालन
घाइतेमध्ये चारजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट चौतारा पठाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
उनका अनुसार पहिरो गएको ठाउँमा नेपाली सेनाको झिर्पु सुरक्षा बेसबाट उद्धारका लागि सहसेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ।
‘हाम्रो टोली बिहानै त्यहाँ परिचालन गरिएको हो,’ उनले भने, ‘त्यहाँको उद्धारमा थप मद्दत गर्न टोली तयारी अवस्थामा छ।’
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले घटनास्थलमा सुरक्षाकर्मी पुगेर उद्धारमा खटिएको जानकारी दिए।
सभामुख सापकाेटा घटनास्थलमा
घटनाको खबरलगत्तै सभामुख अग्निप्रसाद सापकोटा निरीक्षण र उद्धारका लागि घटनास्थल पुगेका छन्। केही बेरअघि चौतारा पुगेका उनले जिल्लास्थित सुरक्षा निकायलाई उद्धारकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।
सभामुख हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी खनालले सभामुख सापकोटासहितको टोली उद्धारका लागि हेलिकप्टर लिएर आएको जानकारी दिए।
यसअघि १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो। २४ असारमा बाह्रबिसेमा गएको पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन्।
