काठमाडौं– २० साउनपछि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद टुटेको थियो।
नौ दिनपछि उनीहरूबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टा छलफल भयो। भेटवार्तामा पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ।
लगत्तै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आफू निकट प्रदेश ५ का केन्द्रीय कमिटीका सदस्यहरूको भेलामा सहभागी हुन नयाँबानेश्वर, थापागाउँ पुगे।
त्यहाँ अध्यक्ष दाहालले बिहीबार बालुवाटारमा भएको भेटवार्ताका बारेमा ब्रिफिङ गरेका थिए। बालुवाटर भेटवार्तामा महासचिव विष्णु पौडेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।
‘बालुवाटारमा हाम्रो छलफल चल्दै गर्दा महासचिवले सहमतिका तीनवटा ड्राफ्ट पढेर सुनाउनुभयो,’ प्रचण्डको भनाई उधृत गर्दै भेलामा सहभागी एक नेताले भने,‘मैले ती कुरा सुनेपछि सचिवालयका साथीहरूसँग छलफल गरेर जवाफ दिन्छु भनेको छु।’
‘अध्यक्ष दाहालले अर्का अध्यक्षसँग भएको आजको वार्ताका बारेमा जानकारी दिनुभयो,’ भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘हामीले पनि पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली एक स्टेप डाउन हुनैपर्ने धारणा राख्यौं।’
उनले पार्टी एकीकरणका क्रममा भएका सहमति कार्यान्वयन गर्न दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनका अनुसार आजको छलफलमा शीर्ष नेताहरूसहित करिब २२ जना सांसद तथा केन्द्रीय सदस्य सहभागी थिए।
सहभागी एक केन्द्रीय सदस्यले भने, ‘हामी सबैको धारणा पनि ओलीले एक पद नछाडेसम्म सहमति गर्न नहुने भन्ने नै हो।’
दाहाल र वरिष्ठ नेता नेपालले ओलीले एकलौैटी रुपमा पार्टी र सरकार चलाउन खोजेको आरोप लगाएको एक केन्द्रीय सदस्यले बताए।
थापागाउँ भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, देव गुरूङलगायत नेतासमेत सहभागी थिए।
बुधबार दाहाल–नेपाल समूहले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। तर, ओली पक्षीय नेताहरू भने पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच संवाद भइरहेको बेला गोप्य भेला गर्नु गलत भएको बताउँछन्।
‘ओलीले गुट चलाए भनेर उहाँहरूले गलत प्रचार गर्दै हिँडने, यता छलफल र संवाद भइरहेका बेला गुटको भेला गर्ने,’ ओली निकट एक केन्द्रीय सदस्यले भने, ‘पार्टीलाई विभाजन गरेर लैजाने खेलमा उहाँहरू लाग्नुभएको छ। संवाद र सहमतिका प्रयास भइरहेका बेला छुट्टै भेला र छलफल गर्नु पार्टी हितमा छैन।’