काठमाडौं- गृह मन्त्रालयले कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयन भएनभएको अनुगमन गर्न टोली परिचालन गरेर अनुगमन तथा कारबाही गर्न निर्देशन दिएको छ।
गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अनुगमन टोली परिचालन गरेर साप्ताहिक कार्य प्रगति पठाउन उपत्यका बाहेकका जिल्लाहरुलाई निर्देशन दिएका हुन्।
उपत्यकाभित्र काठमाडौं जिल्लामा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको छ।
‘मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयबाट मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन तथा सो को निरन्तर ताकेता भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनहरूमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन निर्देशनमा भनिएको छ।
गृहमन्त्रालका अनुसार हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजार ५३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाईबुझाई छाडिएको, ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र २५ हजार २०७ जनालाई जरिवाना गरी छाडिएको छ।
हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी साधन तथा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।
