भैरहवा– कोरोना संक्रमणको दर बढेसँगै रुपन्देहीका स्थानीय सरकारहरुले अलग–अलग सूचना निकालेर स्थानीय बासिन्दाहरुलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन्। उनीहरुले घर बाहिर निस्किए कारबाहीसमेत गर्ने चेतावनी दिएका छन्।
जिल्लाको बुटवल उपमहानगरपालिकाले आजदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने सूचना जारी गरेको छ। उक्त नगरले खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र डेरीका पसल बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने नियम बनाएको छ। यातयात पूर्ण रुपमा सञ्चालनमा रोक लगाएको छ ।
यसैगरी बुटवल भएर पूर्व–पश्चिम चल्ने सवारीसाधन भने बुटवलमा रोक्न नदिने गरी नगरले जारी गरेको सूचनामा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले नेपाल समयसँग भने, ‘बुटवल क्रस गरेर जाने सवारी साधनहरुले बुटवलमा रोक्न पाइने छैन ।’
यता भारतसँग सीमा जोडिएको जिल्लाको सिद्धार्थ नगरपालिकाले पनि सूचना निकाली मानिसहरुको भेटघाट, छलफल, गोष्ठी, सेमिनार नगर्न नगरबासीमा अनुरोध गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीले भने, ‘नगरपालिकाको स्वास्थ सेवा, दमकल र सरसफाइ सेवा बाहेक नगरपालिकाका र वडाबाट जारी गरिने सबै सेवा भदौ ५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ ।’
तिलोत्तमा नगरपालिकाले भदौ १० गतेसम्म नगरपालिका र वडापालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने सूचना जारी गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माका अनुसार नगरपालिकाले कोरोना समुदाय स्तरमा देखिन थालिसकेकोले नगरले प्रदान गर्ने सेवा बन्द गर्न बाध्य भएको हो ।
यता देवदह नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै साउन २१ गतेदेखि लकडाउन गरेको छ । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङका अनुसार नगर क्षेत्र भित्र १९ जनामा कोरोना पोजिटिभ देखिएपछि लकडाउन गरिएको हो।