धनगढी- प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बेलौरी नगरपालिकाबाट पाँच र बेल्डाँडी गाउँपालिकाबाट एक गरेर ६ जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको बताए।
बेल्डाँडी गाउँपालिका–२ स्थित क्याम्पबाट तीन ग्राम ९५ मिलिग्राम खैरो हिरोइनसहित वेदकोट नगरपालिका–३ का २० वर्षीय राकेश चौधरी र बेलौरी नगरपालिका–१० स्थित सडकघाटबाट दुई ग्राम दुई सय ९० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित सोही स्थान बस्ने म ३ प ७८३ नम्बरको मोटरसाइकल चालक रमेश चौधरी र मोटरसाइकलमा सवार रवि चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाक्षेत्रीले बताए।
उनीहरुसँगै लागुऔषधको ओसार पसारमा संलग्न शुक्लाफाँटा नगरपालिका–११ का आकाश भण्डारी, वडा नम्बर ४ का शंकर चौधरी र सोही ठाउँका रोशन सार्कीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।