विराटनगर– सात वर्षदेखि प्रयोगविहीन रहेको विराटनगर १४ स्थित विराट साइन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ।
करिव १ बिगाहा क्षेत्रफलमा रहेको उक्त क्याम्पसमा विद्यार्थी आउन छाडेपछि क्याम्पस बन्द गरिएको थियो। कुनै समय नाम कहलिएको क्याम्पस बन्द भएपछि भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो।
व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पसभित्र रहेका पुस्तक लगायतका सामग्री हस्तान्तरण गर्ने प्रस्ताव प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वीकार गरेको छ।
भवन, क्याम्पसको सम्पत्ति एक औपचारिक कार्यक्रमकाबीच चाडै हस्तान्तरण गरिने व्यवस्थापन पक्षले जनाएको छ। प्रदेश सरकार मातहत क्याम्पसको भवन आउने भएपछि मंगलबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्याम्पसको अवलोकन गरेका छन्। प्रदेश सरकारले क्याम्पस भवनमा पशु विज्ञान कार्यक्रम सञ्चालन गर्ने गरि विज्ञसँग छलफल सुरु भएको मन्त्री घिमिरेले बताए।
मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न एकदेखि डेढ वर्षसम्म लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरु गर्ने उनले बताए।
सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गर्ने मन्त्री घिमिरेको भनाइ छ।
तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउन्डेसनबीच सहकार्य हुने भएको छ। करुणा फाउन्डेसनले भवनको मर्मत सम्हारको काम गर्ने भएको छ। भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउन्डेसनका योगेन्द्र गिरीले बताए ।
२०४८ सालमा स्थापना भएको क्याम्पस सात वर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवले बताए। क्याम्पस तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको उनको भनाइ छ।
क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडि रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरुको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने सर्त राखेको छ।