बिहीबार, साउन २१, २०८३

त्रिविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब संवाद गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले त्रिविमा पछिल्लो समयमा भइरहेकोे अनियमितता र चरम राजनीतिकरणप्रति गम्भीर आपत्ति जनाएको छ
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– नेपाली कांग्रेसले त्रिविमा पछिल्लो समयमा भइरहेकोे अनियमितता र चरम राजनीतिकरणप्रति गम्भीर आपत्ति जनाएको छ।

यस्तै पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीको अनशनप्रति सरकारले बेवास्ता गरेको भन्दै कांग्रेसले त्यसलाई गम्भीर रूपमा लिएको छ।

कांग्रेसले प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतम माथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादद्वारा समस्या समाधान गर्न नेपाली कांग्रेस नेपाल सरकार एवं त्रिवि प्रशासनसँग आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘नेकपाको वर्तमान सरकारबाट नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलोभन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै जानु दुःखद छ।’

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनितिक भागवण्डामा नगरी जेष्ठता र प्राज्ञिक वरिष्ठताका आधारमा निश्चित मापदण्ड पारदर्शी ढंगले निर्धारण गरी नियुक्ति गर्नुपर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको कांग्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘संवादबाट समाधान खोज्नुपर्ने प्रक्रिया तर्फ भन्दा प्रजातन्त्रवादी प्राध्यापक संघको नेतृत्वप्रति व्यक्तिगत पूर्वाग्रह राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द्व झनै बढ्ने देखिएको छ।’

यस्तै कांग्रेसले पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल बिद्यार्थी संघका विद्यार्थीहरु अनशनमा बसेको तीन साता पुग्न लाग्दा पनि सरकार र विश्वविद्यालयले समाधान खोज्न पहल नगर्नु दुःखद रहेको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर भनेर दबाब दिँदै विद्यार्थी आन्दोलनमै उत्रनु पर्ने स्थिति आउनु सरकारका लागि लज्जास्पद स्थिति हो।’

जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहरुसंग अविलम्ब संवाद गर्न र माग पूरा गर्न नेपाली कांग्रेसले सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्रकाशित: Aug 10, 2020| 19:38 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्