बिहीबार, भदौ ११, २०८३

एक हप्तामा बैंकबाट झिकियो ११ अर्ब रुपैयाँ

एक हप्तामा वाणिज्य बैंकहरूबाट ११ अर्ब निक्षेप झिकिएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– एक हप्तामा वाणिज्य बैंकहरूबाट ११ अर्ब निक्षेप झिकिएको छ।

नेपाल बैंकर्स संघका अनुसार १६ साउनसम्म २७ वटा वाणिज्य बैंकमा ३४ खर्ब ८७ अर्ब निक्षेप थियो। २३ साउनमा घटेर ३४ खर्ब ७६ अर्बमा सिमित भएको छ।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाउँदा निक्षेपकर्ताले घरमै पैसा राखे वा अन्य क्षेत्रमा लगे भन्ने एकीन तथ्यांक नआएको बैंकर्सहरू बताउँछन्।

१ साउनदेखि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। कतिपय बैंकले बचत खातामा ५ प्रतिशतभन्दा कम र मुद्दतिमा ७ प्रतिशतभन्दा कम ब्याज दिइरहेका छन्।

पर्याप्त तरलता रहेको र विगतभन्दा २ प्रतिशत कममा ऋण दिनुपर्ने राष्ट्र बैंकको निर्देशनका कारण बैंकहरूले निक्षेपको ब्याज घटाएका हुन्।

वाणिज्य बैंकहरूले कम ब्याज दिंदा निक्षेपकर्ताले बढी ब्याज पाइने सहकारी संस्थामा निक्षेप राखेको हुनसक्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए।

त्यसैगरी कोरोना भाइरस संक्रमणका कारण हुन सक्ने लकडाउन, निषेधाज्ञालगायतको समयमा पनि घरमा नगद आवश्यक पर्ने हुँदा घरमा पनि केही पैसा राख्न थालेको बैंकर्सहरूको भनाइ छ।

एक हप्ताको अवधिमा कर्जा भने ५ अर्ब रुपैयाँले बढेको छ। लकडाउनपछि उद्योग तथा व्यापार व्यवसाय खुल्न थालेपछि वाणिज्य बैंकहरूको कर्जाको माग बढ्न थालेको हो।

बैंकर्स संघका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कर्जा २८ खर्ब ७१ अर्ब रुपैयाँ छ। त्यसको अघिल्लो हप्ता कर्जा रकम २८ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

त्यसैगरी, बढी ब्याज पाइने भएपछि सहकारी संस्थाहरूले पनि वाणिज्य बैंकमा नभएर विकास बैंक र फाइनान्स कम्पनीमा निक्षेप राख्न थालेका छन्। यसले गर्दा सहकारीमार्फत आउने निक्षेप पनि कम भएको शर्माको भनाइ छ।

 

प्रकाशित: Aug 10, 2020| 17:33 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्