बिहीबार, भदौ ११, २०८३

महामारीमा घर फर्किंदा हत्कडी

कोरोनाका कारण केही यस्ता मानिस पनि घर फर्किए, जो विभिन्न अपराधकर्म गरेर लुकेर बसेका थिए। यस्ता केही अभियुक्तलाई प्रहरीले लकडाउनको अवधिमा पक्राउ गरेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– बूढापाकाहरु भन्छन्– महामारीको बेला मानिसले आफ्नो थातथलो सम्झिन्छ र घर फर्किन्छ। बाहिर जस्तोसुकै सुखसुविधा भए पनि अन्तिममा आउने घरमा नै हो।
विश्वभर फैलिएको कोरोना महामारीमा पनि यस्तै देखियो। देशविदेशमा रहेकाहरु कोरोनाबाट बच्न गाउँघर फर्किएका छन्। देशभित्रै घरबाहिर रहेका तथा विदेशमा रहेका थुप्रै नेपालीहरु कोरोनाले गर्दा घर फर्किए। फर्किने क्रम जारी नै छ।

कोरोनाका कारण केही यस्ता मानिस पनि घर फर्किए, जो विभिन्न अपराधकर्म गरेर लुकेर बसेका थिए। यस्ता केही अभियुक्तलाई प्रहरीले लकडाउनको अवधिमा पक्राउ गरेको छ।

झापाको साविक जलथल गाविस–८ का तत्कालिन २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा। १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त हुन् उनी । प्रहरीका अनुसार दुर्गासहितको समूहले कुटपिट गरेर साविक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए।

सामान्य विवादमा विरिकलालको हत्या गरेर दुर्गा घटनालगत्तै काठमाडौंतिर छिरेको र त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेका थिए।

भारतमै रहँदा रोजगारीका लागि मलेसिया र दुबई गएर उनी लकडाउनको बीचमा नेपाल फर्किएको झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए। त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको छ।

अपराधमा संलग्नहरुले जतिसुकै चलाखी गरे पनि कुनै न कुनै दिन प्रहरीको फन्दामा परेरै छाड्छन् भन्ने यो उदाहरण हो।

लकडाउन अवधिमै विदेशबाट नेपाल फर्किंदा प्रहरीको फन्दामा पर्ने अर्का फरार अभियुक्त हुन् हरिशरण खड्का। ३३ किलो सुन काण्डका आरोपित हुन् खड्का। युएईमा रहेका खड्का लकडाउनकै बीच नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका हुन्। ३३ किलो सुन काण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ।

मकवानपुरमा कारागारबाटै फरार भएका एक जनालाई पनि लकडाउन अवधिमै प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका–७ का २५ वर्षीय कुलदिपराज धामीलाई भारतबाट फर्किदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनी २०७६ कात्तिक ३० गते कारागारबाट भागेका थिए। धामीले २०७१ सालमा चितवनमा २१ वर्षीय रोजिन गुरुङको हत्या गरेका थिए।

रौतहटमा पूर्वमन्त्री तथा सांसद मोहमद आफताब आलमले करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी घटाएको भनिएको घटनाका एक अभियुक्त पनि लकडाउनको बीचमै पक्राउ परे।

बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

घटना भएको स्थान इँटाभट्टाका मिस्त्री रहेका साह लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

२०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटाभट्टामा जिउँदै मानिसलाई जलाएर हत्या गरेको आरोपमा पूर्वमन्त्री आलमसहित ११ जनाका नाममा मुद्दा चलिरहेको छ। आलम अहिले जेलमा छन्।

भिनाजुसँग साढे दुई लाख फिरौती बुझेर पनि काठमाडौंमा भाञ्जाको हत्या गर्ने भारत मुजफरपुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले लकडाउनकै बेला १३ वर्ष पछि पक्राउ गरेको छ।

राजेशले २०६४ असोज २४ गते भारत सितामणी घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताको छोरा रोहित गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यालगत्तै फरार रहेका राजेश भारतमा छुकिछिपी बसेको र पछिल्लो समय लकडाउनमा नेपाल आएको बेला सर्लाही मलंगुवा–८ बाट पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि चैतदेखि असार सम्म ३७० भन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन्।

बिभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएका फरार अपराधी पनि पक्राउ गरी अदालत पेश गरेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए।

विगतका वर्षभन्दा गएको आर्थिक वर्षमा फैसला कार्यान्वयनमा प्रहरीले उल्लेख्य प्रगति गरेको कठायतले बताए। ‘कोरोना महामारीले गर्दा लुकेर बसेको ठाउँ छोडेर घर फर्किएकाले फरार प्रतिवादीहरु पक्राउ पर्ने संख्या बढेको हुन सक्छ,’ कठायतले भने, ‘पक्राउ पर्नेमा सजाय तोकिएकैहरुको संख्या चार महिनामा करिव चार सय छ। अभियुक्तहरुको संख्या त झन् धेरै छ।’

फैसला कार्यान्वयनमा लकडाउनको अवधिमा प्रदेश १ प्रहरी कार्यालय सबैभन्दा अगाडि छ। अदालतबाट सजाय सुनाइएका फरार २१८ जनालाई ४ महिनाको अवधिमा प्रदेश १ प्रहरीले पक्राउ गरेको छ।

प्रदेश १ प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलले अपराध नियन्त्रणमा फैसला कार्यान्वयन पनि मुख्य पाटो ठानेर प्रहरीले सक्रियता बढाउँदा फरार प्रतिवादीहरु पक्राउ परेको बताए।

‘प्रहरीले अपराधको अनुसन्धान गरेर अदालतले सजायसमेत तोके पनि अपराधी फरार हुँदा काम गरेको त्यति महत्व देखिँदैन,’ पोखरेलले भने, ‘जब अपराधीले तोकिएको सजाय भोग्छ, तबमात्र कामको अर्थ हुन्छ।’

कोरोना महामारीको उच्च जोखिमका बीच पनि प्रहरीले फरार प्रतिवादी पक्राउमा निकै ठूलो सफल्ता हासिल गरेको पोखरेलले दाबी गरे।

प्रकाशित: Aug 10, 2020| 08:20 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।