सुर्खेत- दुई हप्तायता नेपालमा कोरोना संक्रमण पुनः तीव्ररुपमा बढिरहेको छ। दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
कर्णाली प्रदेशको छिमेकी जिल्लाहरु बाँके र कैलालीमा लक्षणसहितका संक्रमितहरु बढिरहेका छन्, जसका कारण कर्णालीमा पनि संक्रमणको जोखिम बढेको छ।
सार्वजनिक यातायात सञ्चालनमा आएपछि नागरिकको आवागमन सहज भएको छ। छिमेकी जिल्लामा संक्रमित बढिरहँदा कर्णाली प्रदेशले भने पीसीआर परीक्षणको दायरा घटाएको छ।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो चार दिनमा परीक्षणको दायरा आधा घटाइएको छ। मन्त्रालयका अनुसार बिहीबार ४७५, शुक्रबार ४३३, शनिबार ५८० र आइतबार ४९९ वटा स्वाब परीक्षण गरिएको छ। विवरण अनुसार प्रदेशभर दैनिक ६०० भन्दा कम परीक्षण गरिँदै आएको छ। जबकी प्रदेशमा एकैदिन दुई हजारभन्दा बढी परीक्षण गर्न सकिन्छ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, दैलेख अस्पताल, प्रदेश अस्पताल सुर्खेत र रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन छन्। जुम्लामा एकै पटक एक हजार परीक्षण गर्न मिल्ने ठूलो क्षमताको मेसिनसमेत जडान गर्ने प्रक्रिया थालिएको छ। तर, परीक्षणको दायरा बढाउन रणनीति अपनाइएको छैन।
समुदायस्तरमा तत्काल परीक्षण गर्नुपर्ने अवस्थामा सामाजिक विकास मन्त्रालयले भने क्वारेन्टिनबाट बस्ने र विदेशबाट फर्कने घटेसँगै परीक्षण घटाएको तर्क गरेको छ। जबकी हिजोआज भारतलगायत तेस्रो मुलुकबाट फर्कनेहरुबाट कोरोना फैलिने जोखिम उच्च छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीका अनुसार पछिल्लो समय विदेशबाट फर्किएका ९९ प्रतिशतमा कोरोना पुष्टि हुने गरेको छ। विदेशबाट आउने प्रायः सबैलाई संक्रमण देखिएपछि हाल सबैको अनिवार्यरुपमा पीसीआर परीक्षण गरिँदै आएको छ। तर, नाकाबाट गलत सूचना दिएर प्रदेशमा भित्र्ने र गाउँमा लुकिछिपी बसेका व्यक्तिका कारण कोरोना संक्रमण फैलिने उच्च सम्भावना छ।
उसो त कर्णालीमा गाउँ फर्कने पनि घटेका छैनन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा ५३ हजार ५२७ जना सर्वसाधारण गाउँ फर्किएका छन्। जसमध्ये भारतबाट मात्रै ३४ हजार ४५४ जना, तेस्रो मुलुकबाट ६३० र अन्य प्रदेशबाट १८ हजार ४४३ जना सर्वसाधारणहरु गाउँ फर्किएका छन्।
कर्णाली प्रदेशमा अझै ८०३ भन्दा बढी सर्वसाधारण क्वारेन्टिनमा रहेको त्यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ। जसमध्ये सुर्खेत र दैलेखमा धेरै सर्वसाधारण क्वारेन्टिनमा छन्।
तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा बढी अर्थात् ३३२ जना र सल्यानमा २८२ जना विभिन्न क्वारेन्टिनमा छन्। त्यस्तै, मुगुमा ३०, कालिकोटमा ११, दैलेखमा २६, जाजरकोटमा १०३ र रुकुमपश्चिममा १९ जना क्वारेन्टिनमा बसेको निर्देशनालयको कोरोना फोकल पर्सन श्याम आचार्यले जनाकारी दिए।