काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशिताको प्रारम्भ नेपाली कांग्रेसले नै गरेको बताएका छन्।
आदिवासी जनजातिको हक र अधिकारका निम्ति संघर्ष गर्दै आइरहेको इतिहास रहेको भन्दै देउवाले कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भएको उल्लेख गरेका छन्।
आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै आइतबार देउवाले समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवम् क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रिय धरोहर मान्ने उल्लेख गरेका छन्।
देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सबै जाति, समुदाय, भाषा, संस्कृतिको पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने नीतिको अख्तिार पनि कांग्रेसले नै गर्यो।’
सन्देशमा देउवाले नेपालका आदिवासी जनजातिको उत्थान एवम् अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत यो दिवसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।
साथै उनले आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासी लगायत सबैका बीच विश्व वन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहि रहोस् भन्ने शुभकामना दिएका छन्।
संयुक्त राष्ट्र संघद्वारा १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस (अगष्ट ९ का दिन) लाई विश्वभरिका आदिवासी जनताले अन्तर्राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेका छन्।