पोखरा– समान कामको समान पारिश्रमिक माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकले पृथ्वीनारायण क्याम्पसको मूल गेटमा ताला लगाएका छन्।
आफ्ना माग पूरा गर्न विगत १४ वर्षदेखि चरणबद्ध आन्दोलन गर्दै आएका आंशिक शिक्षकले त्रिवि र क्याम्पस प्रशासन गैरजिम्मेवार बनेको भन्दै अनिश्चितकालका लागि ताला लगाएका हुन्।
उनीहरू एक पिरियडको दुई सय रुपैयाँभन्दा कम शुल्कमा पढाउँदै आएका छन्। आंशिकका समस्या समाधान गर्न गत माघ २० गते क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको आंशिक शिक्षकहरू बताउँछन्।
क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले साउन २२ गते आंशिक शिक्षकसँग दुईबुँदे लिखित प्रतिबद्धता जनाएका थिए।
रिक्त दरबन्दमा आंशिक शिक्षकलाई नियमित गर्ने प्रतिबद्धता उनको थियो। माग पूरा नभएपछि आन्दोलनमा उत्रिनुपरेको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए।
उनले भने, ‘हामी १४ वर्षदेखि श्रम शोषणमा परेका छौं। अब पनि माग सम्बोधन नगरिए कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं।’
क्याम्पस प्रमुख कोइरालाले आंशिक शिक्षकका माग सम्बोधनका लागि पहल भइरहेको बताए। उनले भने, ‘उहाँहरु समस्यामा हुनुहुन्छ। यो विश्वविद्यालयकै समस्या हो।त्यसैले समाधान गरिनुपर्छ।’
संघका अध्यक्ष गौतमले पनि ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकले लिएको बताए। पढाएको दिनको मात्रै न्यून ज्याला पाउँदै आएका शिक्षकहरु लकडाउनपछि भोकै परेको उनको भनाइ छ।
क्याम्पसमा २२० जना आंशिक शिक्षक कार्यरत छन्।