काठमाडौं– पार्टी एकता जोगाउन भन्दै नेकपाका ७० भन्दा बढी सांसदहरुले हस्ताक्षर संकलन गरेका छन्। पार्टीभित्र देखिएको प्रवृत्ति रोक्नका लागि दबाबमूलक अभियान थालिएको सांसद सुरेशकुमार राईले जानकारी दिए।
‘पार्टी विधि र पद्धति भन्दा बाहिर जान थालेपछि हामीले अभियान थालेका हौं,’ उनले भने,‘अहिले ७० जनाजति सांसदहरुले हस्ताक्षर संकलन गरेका छौं। एक सय जतिले हस्ताक्षर गर्ने भन्ने कार्यक्रम छ।’
आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सांसदहरुले आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन्।
उनीहरुले नेतृत्वलाई दबाब दिन कार्यक्रम गर्न लागेका हुन्। सांसद राईले कसैका विरुद्ध हस्ताक्षर नभई एकताबद्ध बनाएर लैजान दबाब दिनका लागि गरिएको बताए।
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकै सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन्।