काठमाडौं– काठमाडौंसहित उपत्यकामा कोरोना संक्रमण तीव्र बढेपछि आजदेखि तीनवटै जिल्लामा विभिन्न सरकारी सेवा बन्द भएका छन्।
तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा आइतबारदेखि भदौ ८ गतेसम्मका लागि बन्द गरिएको हो।
नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य तथा निजी सुरक्षा कम्पनी नवीकरणका काम बन्द हुनेछन्।
राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका काम बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य एवम् विपद् व्यवस्थापनसम्बन्धी कार्य भने हुनेछन्।
यी सेवाहरु लिन र दिनका लागि पूर्णरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ।