प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
आफ्नो निवास बालुवाटारमा हिजो शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन्।
उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरिन्।
माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
स्थानीय जनप्रतिधिको मागलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाएको उपप्रमुुख महतोले जानकारी दिइन्। केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताएका थिए।