काठमाडौं- सत्तारुढ नेकपाभित्रको विवाद सामाजिक सञ्जालमा छताछुल्ल हुन थालेको छ।
शीर्ष तहमा विवाद समाधान हुन नसकेपछि दोस्रो तहका नेता सामाजिक सञ्जालमार्फत गालीगलौज र आरोपप्रत्यारोपमा उत्रिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् स्थायी कमिटी सदस्य विष्णु रिमालले शुक्रबार पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका थिए।
उनले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, 'पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्। मुलुक संवेदनशील मोडमा छ, महसुस होस्।'
रिमाललाई जबाफ दिँदै प्रवक्ता श्रेष्ठले यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न र अतिवादबाट मुक्त हुन आग्रह गरेका हुन्।
उनले व्यक्तिलाई नभई पार्टीलाई केन्द्रमा राखेर रुपान्तरणमा अघि बढ्न सकिने पनि स्पष्ट पारेका छन्।
श्रेष्ठले शनिबार फेसबकुमा लेखेका छन्, 'पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्योन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जितको विषय होइन। पार्टी, कम्युनिस्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं।'
प्रवक्ता श्रेष्ठले व्यक्तिगत आरोपप्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, सैध्दान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न आग्रह गरेका छन्।
उनले पार्टीमा उत्पन्न संकट निकासका निम्ति तत्काल स्थायी कमिटी बैठक अघि बढाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, 'म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं।'
प्रवक्ता श्रेष्ठले बैठकमा उपस्थित भएर आआफना विचार राख्न र छलफल गर्न अपिल गरेका छन्।
उनले आवश्यक परे त्यसबीचमा शीर्षस्थ नेताहरुबीचमा सचिवालयमा गृहकार्य गर्न पनि सुझाएका छन्।
प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्, 'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं।'
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १६ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ।
असार १५ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन राजदूतावास र होटलहरुमा छलफल भइरहेको अभिव्यक्ति दिएपछि विवाद बढेको हो।
यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल समूहले एकै स्वरमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।
तर प्रधानमन्त्री ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन तयार छैनन्। सोही विवादका कारण स्थायी कमिटी बैठक अवरुद्ध हुँदै आएको छ।
स्थायी कमिटी बैठक अघि बढाउन शीर्ष तहमा सहमति जुट्न नसकेपछि पार्टीमा विवाद तीव्र भएको छ।
केही दिनअघि अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, खनालले केही सीमित पत्रकारलाई बोलाएर ओलीविरुद्ध खनिएका थिए।
दाहाल पक्षीय नेताहरु पार्टीमा उत्पन्न समस्या स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने पक्षमा छन्। तर प्रधानमन्त्री ओली बैठक अघि बढाउन आलटाल गर्दै आएका छन्।
यिनै विषयमा दोस्रो तहका नेताहरु आरोपप्रत्यारोपमा उत्रिएका हुन्।