काठमाडौं- मोरङमा भारततर्फ लैजाँदै गरेको अवस्थामा २६७ ग्राम सुनसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विराटनगरस्थित सशस्त्र प्रहरी बलको बीओपी पोस्ट, बखरीले भारततर्फ लैजाँदै गरेको अवैध सुन बरामद गरेको हो।
गस्तीका क्रममा सशस्त्र प्रहरीले उक्त सुनसहित एक नेपालीलाई पक्राउ गरेको सशस्त्र प्रहरी मोरङका प्रमुख एवं एसपी तीर्थ पौडेलले जानकारी दिए।
पौडेलका अनुृसार विराटनगर–१६ को दरैया बस्ती हुँदै भारततर्फ लैजाने क्रममा सुनसहित उनलाई नियन्त्रणमा लिएको हो। थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखिएको पौडेलले बताए।
लकडाउनको समयमा साइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँचका गर्न क्रममा करिब २३ लाख रुपैयाँ बराबरको सुनको चक्की फेला परेको पौडेलले बताए।
पक्राउ परेका व्यक्ति र सुन आइतबार विराटनगरस्थित रानी भन्सार कार्यालयमा बुझाउने उनले जानकारी दिए।