काठमाडौं- काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई आज (शनिबार) सिल गरिएको छ।
महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलले अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिए।
प्रहरी टोली नै परिचालन गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ। केही दिनअघिको परीक्षणमा प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो।
त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो। समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए।
डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए। सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ संक्रमण बढ्दो क्रममा छ। शुक्रबार मात्रै उपत्यकामा १०० भन्दाबढीमा कोभिड–१९ संक्रमण भएको थियो।
संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ। उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन्।
काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ। सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ। रासस