काठमाडौं- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६११ पुगेको छ।
पछिल्लोपटक बाग्लुङमा १३ जना, स्याङ्जामा सात जना, कास्कीमा तीन जना र म्याग्दीमा एक जनामा संक्रमण भएको हो।
क्षयरोग उपचार केन्द्र पोखरामा कुल ७८२ नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण भएको केन्द्रले जनाएको छ।
सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना रोकथाम नियन्त्रण तथा कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताए।
बाग्लुङका संक्रमित महोत्तरीबाट गएका तथा अन्य जिल्लाका व्यक्तिमध्ये पोखरा महानगरपालिका १७ र बेनी ४ का भारतबाट फर्किएका हुन्। अन्य व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु छन्।
२४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परीक्षण भएको छ।्र जसमा गोरखाका ५०, तनहुँका ५१, लमजुङका ६८, स्याङ्जाका १८३, बाग्लुकाङ ६१, म्याग्दीका ५५ र कास्कीका ३१४ नमुना परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा २८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ४४३ पुगेको छ। पछिल्लो २४ घण्टामा स्याङ्जाबाट ३०, म्याग्दीबाट ६, नवलपरासी पूर्वबाट २० र लमजुङबाट ४ जना गरी ६० जना व्यक्ति निको भई डिस्चार्ज भएका छन्।