काठमाडौं- बन्दाबन्दीका समयमा पनि सुनकोसी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन्।
आयोजनामार्फत अमारे र न्यौपानेटारका घरमा ५९ धारा निर्माण भएका छन्। यसबाट चार सय २३ जना लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
अमारेका ३९ घरमा धारा निर्माण भएका छन् भने न्यौपानेटारका २० घरमा धारा निर्माण भएका छन्।
रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाको ३० प्रतिशत रकम लगानीमा आयोजना सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८९३, सुनकोसी गाउँपालिकाको सात लाख ९५ हजार ५०८ र समुदायको एक लाख २० हजार ४६८ गरी ३० लाख ७६ हजार ८७० रुपैयाँ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले बताए।
निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको १५ लाख ३५ हजार ५४०, सुनकोसी गाउँपालिकाको चार लाख ७७ हजार ८०८ र समुदायको ८१ हजार
एक सय ७७ गरी कुल २० लाख ९४ हजार ५२७ रुपैयाँमा आयोजना सम्पन्न भएको छ।