मार्च सुरुमा न्युयोर्कका रेस्टुराँमा भीडभाड थियो। मानिसको जमघटमा कोरोना संक्रमण रोक्न लकडाउन गर्ने कि नगर्ने, गरियो भने कसरी गर्ने, लकडाउनले पार्ने आर्थिक क्षति कसरी सम्बोधन गर्ने भन्ने विषयमा बहस चर्किरहेको थियो।
सरकार भने मास्क लगाउँदा हुने फाइदाबारे वास्ता गरिरहेको थिएन। तर हामी (बहिनीहरु तमर, तालिया, इलाना र म) के कुरामा स्पष्ट थियौं भने हृदयाघातबाट तंग्रिएका हाम्रा ८२ वर्षीय बुबालाई रेखदेखको खाँचो छ।
सरकारले मास्क लगाउनैपर्ने कुरालाई हावादारी भनेर उडाए पनि हामीले एन–९५ मास्क किनेर ल्यायौं। बुबालाई दियौं। उहाँलाई अपार्टमेन्टबाहिर ननिस्कन अनुनय गर्याैं।
बुबालाई सुरुमा ज्वरो र खोकीले सतायाे। अप्रिल पहिलो साता उहाँको स्वास्थ्य बिग्रेपछि अस्पताल लग्यौं। बढ्दो कोरोना संक्रमणले स्वास्थ्य संस्थाहमा भद्रगोल थियाे। आवश्यक परीक्षणपछि उहाँलाई घरै पठाइयो।
अर्को दिन उहाँमा कोभिड–१९ पुष्टि भयो।
बिरामी भएको १० दिनपछि बुबालाई म्यानह्याटनको सियानी वेस्ट अस्पतालमा भर्ना गरियो। अस्पताल दुई बहिनी र म बस्ने ठाउँबाट नजिकै थियो।
उहाँ टाढा कतै अर्को राज्यमा भएको भए के हुन्थ्यो होला? धन्न, जुममार्फत हामी परिवारका सदस्य र हाम्रा शुभचिन्तक एकत्र हुन पायौं।
अस्पतालमा रहनुभएको बुबा र घरघरमा रहेका हामीबीच कुराकानी हुन थाल्यो।
अस्पतालको कोठामा भएको अक्सिजन मेसिनको टाइँटुइँ र हावा सफा पार्ने भाँडोको क्यारकुर आवाजमाझ उहाँको स्वर दबिएको थियो।
दुईदुई वटा मास्क र अनुहार ढाक्ने प्लास्टिकको खोल लगाएर बोल्ने डाक्टरले भनेको कुरा बुझ्नै सकिन्नथ्यो। तर हामीसँग बुबाको स्वास्थ्य स्थितिमा सुधार आउला भनेर कुर्नुको विकल्प थिएन। हामी अस्पतालको दैनिकीमा अभ्यस्त हुँदै थियौं।
बुबाको स्याहारसुसारमा एकजना कुरुवा निरन्तर खटिइरहनुपर्ने भयो। त्यसका लागि अस्पतालले परिवारको एक सदस्यलाई बस्ने अनुमति दियो।
कोरोना संक्रमणबाट भर्खरै मुक्त भएकी बहिनी तालिया बुबासँगै अस्पतालमा बस्ने भइन्। अस्पतालले जुम एप भएको एउटा आइप्याड उपलब्ध गरायो। जसले हामी सबैलाई घण्टौंसम्म बुबासँग भेट्ने अवसर दियो।
तालिया बुबासँगै थिइन्। हामी भने डिजिटलमार्फत उपलब्ध थियौं।
जुम भेटघाट सकिएपछि यस्तो लाग्थ्यो, कतै यो नै बुबासँगको अन्तिम कुराकानी त होइन। प्रत्येक दिन बहिनी तालिया बुबाकोमा पुग्थिन्। लाग्थ्यो, थप एक दिन यो रोगबारे बुझिरहेका छौं र स्थिति हाम्रो नियन्त्रणमै छ।
हामीले स्क्रिनमा जे देख्यौं त्यो वास्तविक हो त? प्रश्न उठिरहन्थ्यो। एक दिन हामीलाई भनियो, अब बुबाको इहलीला धेरै दिन रहने छैन। त्यो समाचारले हामी दुःखी भयौं। म जहाँ बसेर वस्तुस्थिति नियालिरहेको छु, त्यहाँबाट स्थिति उस्तो निराशाजनक देखिँदैनथ्यो।
आखिर बुबाले हामीसँग कुराकानी गरिरहनुभएको थियो। उहाँलाई मनपर्ने गीतसंगीत बजाइदिँदा आनन्दित भएको देखिरहेका थियौं।
बुबालाई अस्पताल मन पर्दैन थियो। दुनियाँमा अस्पताल मन पराउने को पो होला र? त्यो पनि यस्तो महामारीका बेला!
चार वर्षअघि हृदयाघात भएको केही महिनामै उहाँ साथीहरु भेट्न एक्लै विदेश उड्नुभएको थियो। विगतमा डाक्टरले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेको कुरालाई उहाँले हावामा उडाइदिनुभएको थियो। अहिले पनि डाक्टरका निर्देशन उहाँलाई जँचिरहेका थिएनन्।
अर्को दिन अर्कै डाक्टर आएर अवस्था राम्रो हुने संकेत दिए। तर पनि उहाँलाई नयाँनयाँ स्वास्थ्य समस्या देखिइरहेका थिए। आवश्यक पर्याे भने सास फेर्न सजिलो बनाउने पाइप हाल्ने कि नहाल्ने? अवस्था सुधारका लागि गर्नुपर्ने अन्य प्रयास गर्ने कि नगर्ने?
उहाँले जीवनमा गर्नुपर्ने महत्त्वपूर्ण निर्णय गरिसक्नुभएको थियो। अरु काम गर्न हामीलाई नै जिम्मा दिनुभएको थियो।
अवस्था यस्तै हो भने उहाँलाई घरमा किन नलाने भनेर हामी छलफल गरिरहेका थियौं। त्यसको केही घण्टामै खबर आयो, कोरोना उपचारमा गरिने
प्लाज्मा परीक्षणका लागि उहाँलाई छनोट गरिएको छ। हामीलाई लाग्यो अब नयाँ केही प्रयास गर्नुभन्दा उहाँलाई घरै लानु बेस हुनेछ।
अस्पताल बसाइको पाँच सातापछि बुबामा कोराना भाइरसको संक्रमणको नतिजा नकारात्मक आयो। डाक्टरले हामीलाई गर्नुपर्ने जति सबै गरिसकिएको बताए। उनले सोधे, ‘तपाईंहरु बुबालाई घर लान चाहनुहुन्छ?’
यी सबै कुरा हामी जुममार्फत सुनिरहेका थियौं। डाक्टरले भनेका कुरा हामीलाई स्वीकार गर्न गाह्रो भइरहेको थियो। मेरो मनमा प्रश्न उठिरह्यो,
उहाँलाई एक साताअघि नै प्लाज्मा दिएको भए के हुन्थ्यो?
हामीलाई के आशा थियो भने घरको शान्त वातावरणमा बुबाको अवस्थामा सुधार आउनेछ।
बुबाका अन्तिम दिनले मलाई मैले युद्धग्रस्त इराक, बाल्कन क्षेत्र र अन्य युद्ध भूमिमा देखेको कुराको स्मरण गराए। उहाँले अहिले नै, यसरी मर्नुपर्ने थिएन– उहाँ र अन्य धेरैले हाम्रो सरकारको अकर्मण्यताका कारणले ज्यान गुमाउनुपर्यो।
बहिनीलाई अस्पतालमा कुरुवा बस्न नदिएको भए बुबाको अन्तिम अवस्थालाई हाम्रो परिवारले कसरी सहजीकरण गथ्र्यो होला, त्यो म सोच्न पनि चाहन्नँ।
अस्पतालले हामीलाई दिएको सुविधा अरु बेला सामान्य हो। महामारीका बेला त्यही कुरा विशेष भयो। बुबाले अन्तिम समयमा आफ्नी छोरीको साथ पाउनुभयो। आफ्ना अन्य सन्तान पनि स्क्रिनमै भए पनि अधिक समय उहाँको सम्पर्कमा रहे।
संक्रमण दर मुलुकभर फैलिरहेका अहिलेको अवस्थामा अन्य परिवारले पनि हामीले पाएकोजस्तै सुविधा पाउनुपर्छ र आफ्ना मायालुसँग जोडिने मौका पाउनुपर्छ।
फोटोपत्रकार रोन अभिभको न्युयोर्क टाइम्समा प्रकाशित लेखको भावानुवाद