केही वर्षअघि इन्टरनेट बिना पनि जीवन राम्रैसँग चलिरहेको थियो। तर, अब यो बिनाको जीवन कल्पना गर्नु असम्भव हुन थालेको छ। एक पटक सोचौंं त लकडाउनका बेला इन्टरनेट नभइदिएको भए के हुन्थ्यो?
कोरोना भाइरस संंक्रमणबाट बच्न मानिसले आफ्नो घरको ढोका बन्द गरिरहँदा कसैले पनि आगामी केही महिनासम्म अवस्था यस्तै रहला भन्ने कल्पना गरेका थिएनन्। कोही मानिस चार महिनासम्म घरभित्रै बसिरहने अवस्थाको कल्पना गर्नुहोस् त। कस्तो होला? यद्यपि, म अहिलेसम्म ठिकै छु। यदि कसैले मलाई लकडाउनका बेला म कसरी जोगिएँ भनेर सोध्छ भने त्यसका तीन कारण छन्– तलब नियमित पाइरहनु, परिवारको सहारा र इन्टरनेट।
उसो त म तालाबन्दीभन्दा पहिले पनि इन्टरनेटको प्रयोग धेरै गर्थें। वेब पत्रकार भएका कारण तलब इन्टरनेटकै कारण आउँछ, तर खालि समयमा पनि म इन्टरनेटमा टाँसिएको हुन्थें। घर र कार्यालयबीचको यात्रामा कहिले अमेजन प्राइमको कुनै सिरिज साथ हुन्थ्यो त कहिले युट्युबमा कुनै पुरानो फिल्म वा किन्डलमा कुनै किताब। कहिले कुनै पडकास्ट।
बन्दाबन्दीमा इन्टरनेटमाथिको निर्भरता अरू बढ्यो। घरबाट बाहिर जानु छैन, आफन्त, साथीभाइसँग भेट्नु छैन। सिनेमाघर बन्द छन् र घुम्ने ठाउँ पनि बन्द छन्।
यस्तोमा कसैले मन बहलाओस् कसरी? आफू रमाउन र दिमागलाई स्थिर राख्न मैले कैयौं मानिसहरु जस्तै इन्टरनेटको सहारा लिएँ। तर, परिणाम– इन्टरनेटसँग जोडिएका मेरा गतिविधि साँघुरिए।
पछिल्लो चार महिनामा न मैले कुनै पडकास्ट सुनेंं न कुनै किताब पढेंं। दिनभरको व्यस्तताका बीच जुन समय आफ्ना लागि बचाउन सकेंं त्यसमा मैले फिल्म र स्ट्रिमिङ सेवमा सिरिज हेरें। पछिल्लो एक महिनादेखि त एउटै सिरिजसँग टाँसिएको छु। मोरो पिछा छोड्दैन। अब बल्ल तेस्रो र अन्तिम सिजनमा पुगेको छु। आशा छ– एक सातापछि यसको लत छुट्नेछ। कहिलेकाहीं त इन्टरनेट कम्पनीले षड्यन्त्र गरेजस्तो पनि लाग्छ।
के हुँदो हो, मेरो पहुँचमा इन्टरनेट नहुँदो हो त? लामो समयदेखि तखताको रौनक बढाइरहेका किताबहरु जो म बारम्बार सम्झिरहन्छु तर फेरि वेब सिरिजको लतका कारण बिर्सिदिन्छु ती किताब पढ्ने थिएँ। साँच्चिकै पढ्थें कि पढ्दैनथेंं थाहा छैन तर, मलाई त्यस्तो लाग्छ। इन्टरनेट नहुनु अब अकल्पनीय लाग्छ।
इन्टरनेट नहुनुको अनुभव हालै मेरो भाइले गरेको छ। ऊ अफ्रिकाको इथियोपियामा बस्छ। त्यहाँ यसै पनि राम्रो इन्टरनेट सेवा छैन। त्यसमाथि आफूलाई इन्टरनेटको लतबाट बचाउन उसले घरमा मात्रै सीमित इन्टरनेटको व्यवस्था गरेको छ। इन्टरनेटको प्रयोग सीमित भएपछि खाली समयमा ऊ बगैंचा बसेर घाममा ढाड तताउँछ र सँगसँगै चारवटा किताब पढ्छ। तर, केही समयअघि उसलाई वाध्यताबस हप्तौंसम्म इन्टरनेटभन्दा टाढै रहनुप¥यो।
इथियोपियामा ठूलो जातीय दंगा फैलियो जसमा ३५० मानिस मारिए। भ्रामक खबर र हल्ला फैलनबाट रोक्न देशमा इन्टरनेट सेवा बन्द गरियो। यो अवधिमा हाम्रो ऊसँगको सम्पर्क पनि सीमित हुन पुग्यो।
बिना इन्टरनेट आफ्नो घरमा बन्द उसले कहिलेकाहीं फोन गरेर आफू ठिकठाक रहेको जानकारी गराउँथ्यो। पहिले इन्टरनेटको लत बस्ला कि भनेर डराउने ऊ इन्टरनेट नहुँदा छटपटीमा थियो।
त्यहाँ पनि बन्दाबन्दी र कोरोना भाइरसको प्रकोप छ। त्यसैले ऊ बाहिर कतै घुम्न जान पनि सक्दैन। परिवारभन्दा टाढा एक्लै र अब इन्टरनेटबाट पनि टाढिएको मेरो भाइ अहिले भनिरहेको छ– कोरोनाले हाम्रो जीवनका केही बहुमूल्य महिना खोसिदिएको छ।
परिवार र २०० जीबी इन्टरनेटबाट घेरिएको म भाइले जस्तो भन्न सक्दैन। म इन्टरनेटप्रति धन्य छु जसले मलाई यो असहज परिस्थितिमा साथ दिएको छ। नत्र म सायद...ठिकठाक अवस्थामा हुँदैनथें।
चारु कार्तिकेयको लेख डीडब्ल्यूबाट अनुवाद