बिहीबार, भदौ ११, २०८३

खुसी रहन विपश्यना ध्यान

लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार विपश्यना ध्यानमा स्वाभाविक सासको निरीक्षण गरिन्छ। यस्तै यसमा शरीर र चित्तवृत्तिमा हुने परिवर्तनशील घटनालाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास गरिन्छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

भैरहवा– सेताम्मै दाह्रीसहितको चम्किलो अनुहारलाई ढल्केको ढाका टोपीले झनै आकर्षक बनाएको छ।

७३ औं वसन्त पार गरिसकेका मेघराज ज्ञवालीकोे जाँगर सोह्रवर्षे तन्नेरीको भन्दा कम छैन। उनी बिहान चार बजे उठेदेखि राति साढे ९ बजेसम्म सक्रिय रहन्छन्।

लुम्बिनीस्थित धम्म जननीको मूलद्वारमा भेटिएका ज्ञवालीले भने, ‘शिविर चल्दा शिविरमा आउँछु। अन्य बेला घरमा बसेर लेखपढ गर्छु, ध्यान गर्छु।’
सामाजिक सेवामा सक्रिय ज्ञवाली पार्टीमा खासै जिम्मेवारी नभएकाले अहिले मनको उपचारमा सक्रिय रहेको बताउँछन्।

ज्ञवाली पुष्पलाल, तुलसीलाल, मशाल, मसाल, एमाले, माले हुँदै ०५७ सालदेखि माओवादी जनयुद्धमा संलग्न भए। जनयुद्धको सिलसिलामा कमान्डिङ गर्दा उनलाई रोगले च्याप्दै लगेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा कपिलवस्तु ३ बाट तत्कालीन माओवादीका उम्मेदवार बनेका उनी भन्छन्, ‘त्यतिबेला शरीरभन्दा क्रान्ति ठूलो लाग्थ्यो। त्यसैले वास्तै गरिएन। चुनबाङ बैठकपछि पार्टीले बाटो बिरायो। म पनि मनमनै कमजोर भएँ। रोगले च्यापेझंै लाग्यो।’

उनी नेपाल र भारतका विभिन्न अस्पताल, बाबा रामदेवदेखि कयौं योग शिविरमा सहभागी भए। तर रोगले छाडेन।

घरमा बस्दा उनको मनमा उतारचढाव हुन थाल्यो। प्रोस्टेटको समस्याले थालेका बेला उनी लुम्बिनीमा दसदिने शिविरमा बसे। उनले भने, ‘म त दुई दिनमै बिमार भएँ। जति दुःख भए पनि शिविर छाडिनँ। आठौं दिनमा त अन्तरमनदेखि शक्ति आए झैं भयो।’

ज्ञवाली अहिलेसम्म ४५ दिनको २ पटक, ३० दिनको एक पटक, २० दिनको दुई पटक र १० दिनको ९ पटक गरी विपश्यना ध्यान शिविरमा बसेका छन्। उनी भन्छन्, ‘ममा देखिएको फुर्ती र जाँगर विपश्यनाकै कारणले हो।’

ज्ञवालीले विपश्यनाले जीवनमा अझै केही गर्न बाँकी छ भन्ने सिकाएको बताए। उनले भने, ‘दाह्री फुलेर सेतै भयो, टाउकोमा कपाल झरेर सकियो तर मलाई आफूमा जाँगर सोह्रवर्षे ठिटोको भन्दा कम छैन झंै लाग्छ।’

नवलपरासीका रामप्रसाद पाण्डेले विपश्यना ध्यानबाट मानसिक रोग निको भएको बताए। उनले भने, ‘कुनै बेला म डिप्रेसनको रोगी थिएँ। विपश्यनामा लागेपछि सबै रोगबाट मुक्त छु। कुनै औषधि खानुपरेको छैन।’

प्याब्सन प्रदेश नम्बर ५ का अध्यक्ष रहेका पाण्डेले आध्यात्मिक, मानसिक र शारीरिक लाभका लागि विपश्यना ध्यान उपयोगी भएको बताए। उनले भने, ‘विपश्यना ध्यान किशोर उमेर समूहका लागि अझै प्रभावकारी हुन्छ।’

अर्घाखाँचीका प्रकाश पाण्डे विपश्यना ध्यानले तर्क शक्ति बढेको बताउँछन्। उनले भने, ‘म अरूको अगाडि आफ्ना कुरा राख्न पनि हिचकिचाउँथें। तर अहिले ढुक्कसाथ तार्किक ढंगले कुरा राख्छु।’ उनले दैनिक जीवनमा आउने विभिन्न समस्यासँग जुध्न कुनै अप्ठयारो नलाग्ने बताए।

साउन १ देखि १० गतेसम्म सम्पन्न शिविरमा सहभागी रुपन्देहीको नयाँ मिलकी राधादेवी गौडेलले मन प्रफुल्ल भएको बताइन्। उनले भनिन्, ‘पहिलो शिविरमा बसें। धेरै खुसी छु। मन हल्का भएको छ।’

बुटवलको एभरेस्ट बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत साइमन क्षेत्रीले पनि दसदिने शिविर पूरा गरे। ‘सुरुका केही दिन धेरै गाह्रो भयो। आँखा चिम्म पारेर दस दिनसम्म कसैसँग नबोली बसें। अहिले मन स्थिर भएको अनुभव भइरहेको छ।’

भर्खरै एसईई दिएकी मणिग्रामकी परिन्दा, कलेज पढ्दै गरेकी भैरहवाकी किरण रायमाझी, अमेरिकाबाट बिदा मनाउन आएकी प्रज्ञा लगायतले पनि विपश्यना ध्यान सुरुका तीन चार दिन गाह्रो भए तापनि पछि आनन्द अनूभूति हुने गरेको बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत भिक्षु सिरि वजिरले विपश्यना ध्यान चित्त शुद्धि गराउँदै आफू पनि खुसी हुने र अरूलाई पनि खुसी बनाउने माध्यम रहेको बताए।

धम्म जननीमा हालसम्म २९५ वटा शिविर सम्पन्न भएका छन्। शिविरमा १२ हजारभन्दा बढी सहभागी भएको धम्म जननीका व्यवस्थापक पीताम्बर सुवेदीले बताए। धम्म जननी लुम्बिनी विकास कोषको कम्पाउन्डभित्र छ।

नेपालमा विभिन्न ११ केन्द्रमा विपश्यना शिविर सञ्चालनमा छन्। काठमाडौंं बूढानीलकण्ठमा धर्मशृंग १ र २, कीर्तिपुरमा धम्म कीर्ति, ललितपुरको गोदावरीमा धम्मागार, सुनसरीको इटहरीमा धम्म विराट, सोलुखुम्बुको खुम्बुमा त्रम्म सागर, बाराको परवानीपुरमा धम्म तराई, चितवनमा धम्म चितवन, पोखराको बेगनासमा धम्म पोखरा, रुपन्देहीको लुम्बिनीमा धम्म जननी, सुर्खेतको वीरेन्द्रनगरमा धम्म सुरखेत र इलामको फिक्कलमा धम्म सुरियो केन्द्र सञ्चालनमा छन्।

के हो विपश्यना ध्यान?

प्राचीन कालमा मानिस ध्यान गरेर आत्मशुद्धि गर्थे। आधुनिकताले ती कुरा निरुत्साहित ग¥यो। पछिल्लो समय पुनः विभिन्न व्यक्तिले धर्म, सम्प्रदाय र वादका नाममा ध्यान, स्तुति, सेमिनार, शिविर सञ्चालन गरिरहेका छन्। महामानव बुद्धले प्रयोग गरेको विपश्यना ध्यान विधि पाँच दशकयता पुनः प्रयोगमा आएको छ। पछिल्लो दुई दशकयता नेपालमा पनि यसको प्रभाव बढ्दै गएको छ।

लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार विपश्यना ध्यानमा स्वाभाविक सासको निरीक्षण गरिन्छ। यस्तै यसमा शरीर र चित्तवृत्तिमा हुने परिवर्तनशील घटनालाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास गरिन्छ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले विपश्यना ध्यानले चित्तलाई दमन गरी मन एकाग्र बनाउने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालको विपश्यना विषयका उपप्राध्यापक सुमन्तराज न्यौपानेले विपश्यनाले आफूलाई चिन्न, अनित्यको बोध गर्न र वस्तुनिष्ठ सत्यताको विकास गर्न सहयोग पु¥याउने बताए।

विपश्यना साधना विधि र तालिका

विपश्यना ध्यानलाई सत्यनारायण गोयन्का (एसएन गोयन्का) ले पुनः अभ्यासमा ल्याएका हुन्। यो विधिमा सहभागी हुन चाहनेले सबैभन्दा पहिले १० दिने शिविरमा बस्नुपर्छ। शिविरमा भाग लिन चाहनेले केन्द्रभित्र पञ्चशील र अष्टशीलमा रहनुपर्दछ। पञ्चशीलअन्तर्गत हिंसा नगर्नु, चोरी नगर्नु, परस्त्री गमन नगर्नु, झूटो नबोल्र्नु र नशालु पदार्थ सेवन नगर्नु हो।

अष्टशील भन्नाले पञ्चशीलका अतिरिक्त दिउँसो १२ बजेपछि भोजन नगर्नु, शृंगार र मनोरञ्जन नगर्नु तथा उच्च आरामदायी आसन प्रयोग नगर्नु हो।

पञ्चशील र अष्टशील पालनापछि तीन दिन सासको अभ्यास गराइन्छ। नाकबाट सास भित्र गएको, बाहिर निस्केको, नाकको प्वालबाट श्वास भित्रबाहिर गर्दा भएकोे अनुभूतिलाई एकाग्र मनले हेर्न र अनुभूति गर्न सिकाइन्छ। तीन दिनको उक्त अभ्यासपछि चौथो दिन साधकलाई आचार्यले विपश्यना दिन्छन्।

समता भाव वा साक्षी भावले शिरदेखि पाउसम्म हुने संवेदनालाई निरीक्षण गर्ने र अनुभूति गर्ने गरी बाँकी १० दिनसम्म सिकाइन्छ। समता भाव वा तटस्थता भावले शरीरका हरेक अंगमा हुने संवेदनाको निरीक्षण, अनुभव नै विपश्यना साधना विधि हो।

प्रकाशित: Aug 08, 2020| 06:36 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।