विराटनगर– मोरङको बुढीगंगा–२ स्थित खारजी कोहवराको मुसहर बस्तीमा आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई शुक्रबार पक्राउ गरेको छ।
प्रहरीले विराटनगर-१४ का ३६ वर्षीय सञ्जय यादव, ३६ वर्षीय उत्तिमलाल यादव, ४५ वर्षीय राजदेव यादव, २५ वर्षीय ब्रम्हदेव यादव, १८ वर्षीय दीपक साह, ३२ वर्षीय विन्दु यादवलाई हिरासतमा लिएको हो।
घटनामा संलग्न भएको आरोप लागेका बुढीगंगा-२ का ३५ वर्षीय रञ्जीत यादव, ४० वीरेन्द्र गडेरी, ३५ वर्षीय सुरेन गडेरी, ४० वर्षीय वीरेन गडेरी, २५ वर्षीय धीरेन गडेरी र २० वर्षीय चल्मलिया यादव भने फरार छन्।
मुसहर बस्तीमाथि साउन १९ गते मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरि आक्रमण गरिएको दलित मुक्ति मोर्चा, मोरङका अध्यक्ष कपिल सुनारले बताए।
उनका अनुसार दलित अगुवाहरुको दबाबपछि प्रहरीले आक्रमण गरेको आरोपमा केहीलाई पक्राउ गरेको हो। यसअघि प्रहरीले पक्राउ गरेकालाई सामान्य सोधपुछ गरि छाडेको थियो। आक्रमणबाट ५ जना गम्भीर घाइते छन्।
गाउँको सामान्य विवादमा ५० वर्षीय सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय २० वर्षीय चल्मलिया यादवले विराटनगर–१४, जतुवाबाट आक्रमणकारीको समूह बोलाएर आक्रमण गराएको अधिकारकर्मी सुनार भनाइ छ ।
आक्रमणबाट ५० वर्षीया सरस्वती ऋषिदेव, भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते छन्। घाइतेको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साउन १९ गते साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ समेत नगरेको उनले बताइन्।
सरस्वतीकी छोरीद्वारा आत्महत्या
हातहतियारसहित मध्यरातमा घरमै आएका समूहबाट आमासहित परिवारका सदस्यमाथि मरणासन्न हुने गरि भएको आक्रमणकी प्रत्यक्षदर्शी २४ वर्षीया उर्मिला त्रसित भएकी थिइन् ।
परिवारका सदस्य अस्पतालमा उपचार गराइरहँदा प्रहरीले आक्रमणकारीलाई छाडेपछि उनले बिहीबार दिउँसो घरभित्रै पासो लगाएर आत्महत्या गरेकी छन्। उनी घाइते सरस्वतीकी माइली छोरी हुन्।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताए। पीडितहरुले पीडकलाई कारवाहीको माग गर्दै बिहीबार मोरङ प्रहरीमा उजुरी दिएका थिए।
यसैबीच, मोरङका ३६ जना दलित अगुवाहरुले पीडकलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। उनीहरुले आज प्रेस विज्ञप्तिमार्फत उक्त माग गरेका हुन्।
घटनामा संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन ढिलाइ गरिए शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने दलित अधिकारकर्मी उमेश विश्वकर्माले बताए।