काठमाडौं- शुक्रबार बिहानै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालको ट्विट आयो- इनफ इज इनफ नारायणकाजीजी, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्।
उनले विधि र पद्दतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न पार्टी प्रवक्तासमेत रहेका श्रेष्ठलाई आग्रह गरेका छन्।
“पार्टी एकता विरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्। मुलुक संवेदनशील मोडमा छ, महसुस होस्,” श्रेष्ठलाई मेन्सन गर्दै उनले लेखका छन्।
शुक्रबार नै नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले ट्विटमार्फत नेकपामा ०५४ को झझल्को आउन थालेको टिप्पणी गरेका छन्।
“बरु कोरोनाको ओखती फेला पर्ला। नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमाचाहिँ नपाइने भो जस्तो छ,” उनले लेखेका छन्। उनले बिहान मिलेको कुरा बेलुका भत्काउने कन्ट्रोल कक्ष कहाँ रहेछ भन्दै प्रश्न पनि गरेका छन्।
रिमाल र बाँस्कोटाले शुक्रबार गरेका ट्विट पछिल्लो समय नेकपाभित्र देखिएको विवादसँग सम्बन्धित छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर रिमाल र बाँस्कोटाले यस्तो धारणा राखेका हुन्।
गत बुधबार पार्टीभित्र देखिएको विवाद हल नभएकै अवस्थामा दाहाल-नेपाल समूहले काठमाडौंको बिजुली बजारमा केही पत्रकारहरु बोलाएर पार्टीभित्र देखिएको विवादबारे छलफल गरे। सामूहिकरुपमा नै नेताहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी पार्टी सञ्चालन गर्न खोजेको र अराजकता बढ्दै गएको भन्दै कडा विरोध जनाएका थिए। भेलामा ओलीविरुद्ध आक्रामकरुपमा दाहालसहितका नेताहरु प्रस्तुत भएका थिए।
दाहाल-नेपाल समूहले उक्त भेला आयोजना गरेपछि अहिले ओली समूह आक्रोशित बनेको छ।
बुधवारको भेलालगत्तै साँझ प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद् भन्दै आपत्ति जनाएका थिए। उनले पार्टी एकताको रक्षा गर्न नेताहरु पुनः संवाद र सहमतिमा फर्कनुको विकल्प नभएको बताएका थिए।
शुक्रबार नै ओली निकट रहेका नेकपाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम कमिटीका अध्यक्ष कर्ण थापाले पनि एकताको विकल्प एकतामात्रै भएको बताए। उनले सामाजिक सञ्जालमार्फत् नै नेकपामा अहिलेको सन्दर्भमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको समझदारी नै पार्टी एकताको मूल आधार भएको धारणा राखे।
“महाधिवेशन यथाशक्य छिटो गर्ने र सबै विषयको वैधानिक समाधान निकाल्ने नेकपाको अहिलेको मुल कार्यदिशा यही हुनुपर्छ,” उनले भनेका छन्।
दाहाल-नेपालले पत्रकारसँग गरेको भेलाका विषयमा नेकपाको प्रेस संगठनभित्र पनि विवाद देखियो। भेलामा सहभागी थिए, प्रेस संगठनका संयोजक महेश्वर दाहाल।
साँझपख सहसंयोजक गणेश बस्नेतले प्रेस संगठनको भेला गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे।
बिहीबार मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका पार्टी प्रचार विभागका उपप्रमुखसमेत रहेका सूर्य थापाले दाहाल-नेपाल समूहले गरेको भेलाका विषयमा आपत्ति जनाए। उनले १० वर्षअघि साउनकै महिनामा धोबीघाट गठबन्धनको परिणति आकांक्षा र बाँडफाँट भएको भन्दै तत्कालीन पदीय बाँडफाँट भएको विषयलाई सामाजिक सञ्जालमा राखे।
उनले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाललाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन तथा बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र नेत्रविक्रम चन्द ‘विप्लव’को मोर्चाबन्दी भएको प्रसंग उल्लेख गरेका छन्। त्यसपछि माओवादी धारको एक दर्जन समूहमा विभाजन र विघटन भएको पनि उनले लेखेका छन्।
अहिले १० वर्षपछि साउनमै खुमलटार गठबन्धनको रिहर्सल आकांक्षा र बाँडफाँट भनेर उल्लेख गरेका छन्।
राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा पुष्पकमल दाहाल, अध्यक्षमा माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई तय गर्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दाहाल, खनाल, नेपाल र श्रेष्ठको मोर्चाबन्दी भएको उनले लेखेका छन्।
“यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाइँ हो त ?,” उनले भनेका छन्। “पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो?” उनको प्रश्न छ।
उनले विभाजन र समाप्त पार्ने कसरत भइरहँदा र देशीविदेशी षडयन्त्र तथा चलखेल जारी रहँदा यसतर्फ दाहाल नेपाल समूह सचेत नभएको बताए।
असार १० गतदेखि सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित छ। अहिले देखिएको विवादलाई सहज अवतरण गराउने नेताहरुले पटक-पटक प्रयास गरे पनि एकपछि अर्का गर्दै देखिएका गतिविधिले नेकपा संकटबाट अघि बढ्न सक्छ वा सक्दैन भन्ने आँकलन हुन थालेको छ।
असार १६ मा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि सुरु भएको विवाद छलफल र बैठकभन्दा बाहिरी सतहसम्म पुगेको छ। दाहाल-नेपाल समूहका नेताहरु अहिलेको विवाद पदका लागि नभई विधि र पद्धतिको लडाइँ भएको धारणा राख्दै आएका छन्।
तर, ओली समूह त्यो मान्न तयार छैनन्। एकोहोरो छलफल र बैठकमा दुईमध्ये कुनै एक पद छाड्नुपर्ने मागकै कारण सहमति हुन सकेको छैन। ओलीले कुनै पनि हालतमा आफूले पद नछाड्ने बताइरहेका छन्।
१३ साउनमा ओलीले एकलौटीरुपमा पार्टीको स्थायी कमिटीको बैठक स्थगित गरेपछि ६ दिनसम्म दुई अध्यक्ष र नेताहरुबीच संवाद नै बन्द हुन पुगेको थियो।
तर, गत आइतबारदेखि विवाद समाधान गर्न भन्दै दुई अध्यक्षले बरिष्ठ नेता झलनाथ खनाल र पार्टी संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत सहभागी गराएर छलफल प्रारम्भ गरे। तर, मंगलबारसम्म कुनै सहमति हुन सकेन। बुधबार दाहाल-नेपाल समूहले भेला गरेपछि पुनः दुई अध्यक्षबीचको छलफल रोकिएको छ। दुवै पक्षका नेताहरु आ-आफ्नो रणनीति तय गर्नमै व्यस्त देखिएका छन्।
“बुधबारको छलफल स्थगित गरेर बिहीबार वार्ता गर्ने समय तोकिएको थियो,” ओली निकट स्रोतले भन्यो, “बुधबार नै अध्यक्ष ओलीविरुद्ध नेताहरुले मोर्चाबन्दी गर्न सुरु गरेपछि छलफलको वातावरण बिग्रिएको हो। कहिले छलफल हुन्छ भन्ने केही टुंगो छैन।”