काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हात्तीको दारासहित तीनजनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–४ सुकेधारामा हात्तीको दारा खरिद बिक्री भइरहेको सूचनाका आधारमा शुक्रबार दिउँसो प्रहरीको टोलीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार १० इन्च लामो हात्तीको दाराको खरिद बिक्री हुन लागेको सूचना पाए लगत्तै टोली परिचालन गरेर पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा छन्। उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।