विराटनगर- प्रदेश १ मा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार संक्रमण पुष्टि भएका ६४ जना मोरङका छन्।
मोरङको विराटनगरका मात्रै ३२ जना छन्। विराटनगरका १९ वटामध्ये १४ वटा वडामा संक्रमण देखिएको छ। विराटनगरका २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिलाको रिपोर्ट पोजेटिम आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ। झापाको मेचीनगर र विर्तामोडमा १-१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३२२ पुगेको छ।
प्रदेश १ मा शुक्रबार ५ जना डिस्चार्ज भएका छन्। कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१० पुगेको छ।
शुक्रबार प्रदेश १ मा १ हजार ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ५० हजार १३२ जनाको पीसीआर परीक्षण भएको छ।
आन्तरिक मामिला मन्त्रीको रिपोर्ट नेगेटिभ
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
प्रदेश प्रहरी व्यवस्थापनसम्बन्धी साउन १४ गते काठमाडौंमा आयोजित बैठकमा सहभागी प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित उनका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि मन्त्री कार्की सेल्फ क्वारेन्टिनमा बसेका छन्।
प्रदेश प्रहरी व्यवस्थापनसम्बन्धि बैठकमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो।