विराटनगर– मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
आज शुक्रबार विराटनगर–९ का ५८ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएपछि मृतकको संख्या ५ पुगेको हो ।
उनको आज बिहान सवा ९ वजे कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । मृत्युपछि परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो ।
स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए। उनलाई उपचारका लागि बिहान अस्पताल ल्याइएको थियो ।
उनको शव आइसोलेसनमै राखिएको र व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइने दासले बताए । मृतकमा एक सतादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।
स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै कोशी ल्याइएको पाइएको मेसु दासको भनाइ छ ।
विराटनगरमा यसअघि कोरोना संक्रमणबाट २ जना र रंगेली र सुनबर्षीमा १–१ जनाको मृत्यु भएको थियो ।