विराटनगर- मोरङको धनपालथान-२ पैठाबाट भारत तस्करी हुँदै गरेको अवस्थामा बुधबार राति ठूलो परिमाणको हरियो मटर बरामद भएको छ।
को १ ख ४८८७ नम्बरको मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा पाँच लाख मूल्य बराबरको ६ हजार दुई सय ५० किलोग्राम मटर नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्।
यसअघि पनि पटक-पटक ठूलो परिमाणमा तस्करीको मटर प्रहरीले मोरङका सीमावर्ती क्षेत्रबाट बरामद गर्दै आएको छ। मोरङ प्रहरी प्रमुखमा एसपी सन्तोष खड्का आएपछि प्रहरीले तस्करीको मटर नियन्त्रणमा ठूलो सफलता हात पारिरहेको छ।
प्रहरीले मटरसँगै बरामद गरेको बिलमा विराटनगरको हाटखोलास्थित एन्जिला सप्लायर्सबाट धनपालथान- २ मा रहेको महिमा दलन तथा फलफूल स्टोरमा लगिएको उल्लेख गरिएको छ।
तर दशगजा हुँदै भारत टपाउने प्रयास गरिएपछि ट्रकसहित मटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले मटर बरामदमा सहयोग गरेको भनेर सशस्त्र प्रहरीलाई समेत समेटेर प्रतिवेदन तयार गर्दै आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। मटर बरामदमा लिने क्रममा पैठामा धेरै बेरसम्म तनाव भएको थियो।