पोखरा– पोखरामा एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै पोखराको नदीपुर बिटमा कार्यरत अन्य ३ जनालाई आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
प्रवक्ता हमालका अनुुसार ती संक्रमित प्रहरी साउन १८ गते बिरामी भएका र १९ गते स्वाब लिइएको थियो । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
ड्युटीमै भएका प्रहरीमा संक्रमण देखिएपछि बुधबार जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र जनस्वास्थ्य कार्यालयको सहयोगमा १११ जना प्रहरीको स्वाब संकलन गरिएको प्रवक्ता हमालले बताए । हमालका अनुसार उनीहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ ।
संक्रमित प्रहरी कहाँ कहाँ गए, कसरी संक्रमण भयो र उनीसँगको सम्पर्कमा को को आए भन्ने विषयमा खोजी कार्य भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।
यसअघि छिमेकी जिल्ला स्याङ्जामा प्रहरी प्रमुख एसपीसहित ३८ जना प्रहरीमा संक्रमण देखिएको थियो । प्रहरीमा संक्रमण देखिएको कास्कीमा भने यो पहिलो घटना हो ।
बुधबार पोखरामा मात्रै १० जनालाई कोरोना पुष्टि भएको थियो । बिहीबार बिहानसम्म कास्कीको तथ्याङ्क हेर्ने हो भने १५६ जनामा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै गण्डकी प्रदेशमा अहिलेसम्म १५६६ जनामा संक्रमण देखिएको छ ।