फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरिदिएको छ। कोरोना भाइरसबारे ट्रम्पले गरेको पोस्ट फेसबुकले हटाइदिएको हो।
गलत सूचना सेयर गरेर फेसबुकको नियम उल्लंघन गरेका कारण राष्ट्रपतिको पोस्ट डिलिट गरिएको फेसबुकले जनाएको छ। ट्रम्पले गरेको पोस्टमा फक्स न्युजलाई उनले दिएको अन्तर्वार्ताको भिडियो क्लिप समावेश थियो, जसमा उनले बच्चालाई कोरोना संक्रमण नहुने दाबी गरेका थिए।
फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यो भिडियोमा कोभिड–१९ लाई लिएर गलत दाबी गरिएको छ। यो हाम्रो नीतिको उल्लंघन हो। हामी कोरोनालाई लिएर गलत सूचना फैलाउने कुराको विरुद्धमा छौं।’
यसबारे ह्वाइट हाउसको भने कुनै प्रतिक्रिया आइसकेको छैन।