काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार एकै दिन ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। कोरोना संक्रमणबाट मोरङ र पर्सामा दुई/दुई तथा काठमाडौं र सप्तरीमा एक/एक जनाको मृत्यु भएको हो।
मोरङस्थित कोसी अस्पतालमा कोरोना संक्रमणबाट विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ।
मंगलबार राति भर्ना भएका विराटनगरका ४५ वर्षीय पुरुषलाई ज्वरोसँगै जन्डिसको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो।
रंगेलीका पुरुषको भने अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजान लागिएको थियो।
मृत्युपछि दुवै जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले जानकारी दिए।
यस्तै, पर्सामा कोरोना संक्रमित वीरगन्ज–१५, भिस्वाका ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ भने पोखरिया नगरपालिका–९ की १८ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको छ।
भिस्वाका ४६ वर्षीय पुरुषको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी मधुमेहका बिरामी थिए। उनलाई श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।
पोखरियाकी १८ वर्षीया किशोरीको सोमबार मृत्यु भएको थियो। पखाला लागेपछि उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको हो।
यसैगरी, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही, मलंगवा–६ की ६५ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ।
उनलाई यही साउन १६ गते मनमोहन अस्पतालमा भर्ना गरिएकोमा १८ गते कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको अस्पताल रेफर गरिएको थियो। उनी अन्य रोगबाट पनि ग्रसित भएको अस्पतालका प्रवक्ता राजु अर्यालले जानकारी दिए।
यस्तै, सप्तरीको रुपनी गाउँपालिका–५, गढियामा बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ। राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।