काठमाडौं- ५ नम्बर प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरलले पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद भएको प्रतिक्रिया दिएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले काठमाडौंमा अनौपचारिक केही पत्रकारहरु बोलाएर पार्टीभित्रको विवादका बारेमा छलफल गरेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।
‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो। पार्टी एकताको रक्षागर्न नेताहरु पुनः सम्वाद र सहमतीमा फर्कनुको विकल्प छैन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
पोखरेलले दाहाल–नेपाल समूहका नेताहरुले दिने अभिव्यक्ति र छलफलका विषयलाई सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै आएका छन्। उनी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र हुन्।