काठमाडौं– नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण गरिएको २० शैययाको आईसीयू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार कोभिड–१९ उपचारको लागि भवन उद्घाटन गरेका हुन्।
खनालले नागरिकलाई सुरक्षाको साथै महामारीको बेला स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्न अस्पतालका चिकित्सकलाई निर्देशनसमेत दिए।
एपीएफ अस्पतालले सरकारबाट कोभिड–१९ रोकथाम तथा उपचारको लागि ‘डेडिकेटेड’ अस्पतालको जिम्मेवारी पाएको छ।
सरकारले दिएको जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध रहने खनालले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा.रोशन पोख्रेलले महामारीको बेला रोगको पहिचान तथा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एपीएफ अस्पतालमा आईसीयू भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको जानकारी दिए।