काठमाडौं– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको महाधिवेशनमा जितेको फुर्ती नदेखाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
एलिट क्लब विराटनगरको संयोजनमा नेपालको जटिल राजनीति र समृद्धिको यात्रा विषयमा बुधबार गरिएको अन्तरसंवादमा नेता नेपालले यस्तो चेतावनी दिएका हुन्।
‘नवौं महाधिवेशनमा जितेको फुर्ती नदेखाए हुन्छ। म १५-२० मतको अन्तरले मात्रै हारेको हुँ,’ उनले भने, ‘चुनौतीको कुरा गर्ने हो भने म चुनौती दिन तयार छु। तर अहिलेको समय त्यो होइन, पार्टीलाई एक ढिक्का बनाउन सोच्नुपर्छ।’
उनले नेकपामा अहिले पदका लागि नभई संस्कृति, विधि र पद्धतिका लागि विवाद भइरहेको प्रस्ट पारे।
‘एकपछि अर्का अलोकप्रिय र विवादास्पद निर्णय गर्ने, त्यसले बाहिर के सन्देश गइरहेको छ?’ नेता नेपालले भने, ‘उहाँ जनताले प्रधानमन्त्री निर्वाचित गरेको भन्नुहुन्छ। त्यसो होइन, उहाँलाई पार्टीले निर्णय गरेर प्रधानमन्त्री बनाएको हो।’
बैठकमा नआउने र बैठक बस्ने वातावरण नै नबनाउने गतिविधि भइरहेको भन्दै नेता नेपालले नेताहरूबीच पार्टीलाई विधि र प्रक्रियाबाट चलाउन छलफल केन्द्रित रहेको बताए।
उनले पार्टीलाई एकलौटी चलाउन खोज्ने र अरूलाई मतलबै नगरेर हिँड्न खोज्ने सहेर बस्न नसकिने बताए।
‘पार्टी एउटा व्यक्तिको पेवा हो, जे मन लाग्यो त्यही गर्न पाइन्छ?’ नेपालले भने, ‘सही कुरा आत्मसात् गर्नुस। आफूबाट भएको गल्तीको आत्मालोचना गर्नुस् भन्ने हो।’
गलत प्रवृत्तिको विरोध गरे ठूलो शत्रु बन्ने प्रवृत्ति ओलीमा देखिएको नेता नेपालको आरोप छ।