काठमाडौं– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतका सबै अस्पतालहरुलाई परिपत्र जारी गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निजी क्लिनिक तथा अस्पतालहरुमा काम नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले परिपत्र गरेसँगै सुदूरपश्चिममा अबदेखि सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने भएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटको राष्ट्रिय नीति अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी एक मात्र स्वास्थ्य संस्था रहने, एक चिकित्सक र स्वास्थ्यकर्मी एक संस्थाको अवधारणालाई कार्यान्वयन गर्न प्रदेशका सबै सरकारी अस्पतालहरुलाई यस्तो परिपत्र गरिएको हो ।
स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काद्वारा जारी पत्रमा ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत सबैले प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि निजी प्राक्टिस गर्न पूर्व स्वीकृति स्वतः खारेज हु्ने’ उल्लेख गरिएको छ ।
साथै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने पत्रमा उल्लेख छ ।