पर्सा– संविधान दिवसका अवसरमा पर्सामा कर्तव्य ज्यान सजाय पाएका सात जनाले आममाफी पाएका छन्। कैदी जीवन बिताएर समाजमा घुलमिल हुन सक्ने र पुनः अपराध गर्न नसक्ने खालका २४ जनालाई कारागार विभागको सिफारिसमा राष्ट्रपति कार्यालयले आममाफी दिएको हो।
ज्यान मुद्दामा कैदी जीवन बिताइरहेर आममाफी पाउनेमा सेख इमामुदिन, अमरुलाह मिया, रोकैया खातुन, मिश्रीलाल राउन अहिर, विनोद विक चितैने, जमुना माझी र लालबहादुर साह तेली छन्।
यस्तै सवारी ज्यान मुद्दाका जगतनारायण राउत कुर्मी, धरेन्द्र पासवान, जोखु राय थारु, कन्हैयाप्रसाद कुशवाहा र अनुपकुमार रुम्बाले पनि आममाफी पाएका छन्।
विभिन्न स्थानको चोरीमा संलग्न रहेका अब्दुलजानी हकिम, राजेश साह कानु, सुनिल सहनी मलाह, सरोज चौधरी र महमद हुसेन आजाद अन्सारीले आममाफी पाएका छन्।
आममाफी पाउने अन्यमा ज्यान मार्ने उद्योगका अजमुदिन अन्सारी, सुनर पासवान, डाका मुद्दाका रमेश मुखिया बिन, विष्णु दयाल हजरा दुसाद, चोरीका सरोज चौधरी र अजाद अन्सारीले आममाफी पाएको वीरगन्ज कारागारका प्रमुख कृष्ण गैरेले बताए।
पर्सामा २०७४ असोज १३ गते वीरगन्ज कारागारका प्रमुख चक्रपाणि गौतम र कारागार विभाग काठमाडौंको सिफारिसमा कर्तव्य ज्यान मुदाका फुलहसन अन्सारीलाई आममाफी दिइएको थियो। आममाफी पाएका उनी पुनः आफ्नो पहिचान बनाएर आपराधिक गतिविधिमा सक्रिय रहेको आरोपमा पक्राउ परेका छन्।