काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद अझै मत्थर भएको छैन। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ।
१३ साउनदेखि स्थायी कमिटीको बैठक बस्ने–नबस्ने कुनै टुंगो लागेको छैन। १३ साउनमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले विवाद समाधानका लागि अघि सारेको ६ बुँदे प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले भने गौतमको प्रस्तावका बारेमा कुनै धारणा सार्वजनिक गरेका छैनन्। गौतमले प्रस्ताव राखेकै दिन साँझ उनको निवास भैंसेपाटी पुगेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले २ घण्टा भेटघाट गरे।
मंगलबार पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष ओलीसँग छलफल गर्नुअघि अर्का अध्यक्ष दाहाल भैंसेपाटीस्थित गौतम निवास पुगे। दाहाल–गौतमको भेटवार्तापछि विभिन्न प्रतिक्रिया बाहिर आएपछि गौतमको सचिवालयले भेटबारे प्रष्ट पारेको छ।
उपाध्यक्ष वामदेव गौतमका सहयोगी विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच संक्षिप्त कुराकानी भएको जानकारी गराएका छन्।
दाहालसँगको भेटमा नेता गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका थिए।
विज्ञप्तिमा जनाइएअनुसार अध्यक्ष दाहालले उपाध्यक्ष गौतमलाई अब तपाईं के गर्नुहुन्छ ? भनेर सोधेका थिए । जवाफमा गौतमले आफू ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका थिए।
१३ साउनमा उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेका थिए। गौतमले एकता महाधिवेशनसम्म र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री कायमै रहने र अर्का अध्यक्ष दाहाललाई पूर्ण अधिकारसहितको कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका थिए।
उनको प्रस्तावमा सरकारका काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने र सहयोग गर्ने तथा सरकारले पनि महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टी कमिटीमा छलफल गर्नुपर्ने भनेका थिए।
दाहालसँगको भेटमा विभिन्न किसिमका चर्चा–परिचर्चा बाहिर आएको भन्दै गौतमको सचिवालयले भेटका बारेमा प्रष्ट पारेको हो।