काठमाडौं- दिनहुँ कोरोना संक्रमण बढ्दै गएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७ सय २७ पुगेको छ।
पछिल्लो एक हप्तामा मात्रै २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा मंगलबार एकैपटक ६२ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार ५१, आइतबार ३१, शनिबार ६, शुक्रबार ३८, बिहीबार ४५, बुधबार १५ जना संक्रमित थपिएका थिए।
संक्रमितहरु काठमाडौं जिल्लामा ५ सय ४१, ललितपुरमा १ सय ९ र भक्तपुरमा ७७ जना छन् । संक्रमितमध्ये १ सय १७ जनाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने पाटन अस्पतालमा ८६ जना उपचाररत छन् ।
यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा ४६, काठमाडौं मेडिकल कलेजमा ४५, अयुर्वेद अस्पतालमा २०, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ७ जनाको उपचार भइराखेको छ। उपचारतमध्ये २० जनालाई आईसीयूमा राखिएको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।
टेकु अस्पतालमा १२, पाटन अस्पतालमा ६ र त्रिवि शिक्षण अस्पतालमा १ जनालाई आईसीयूमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक जना कोरोना संक्रमितको सशस्त्र प्रहरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइराखेको छ।
काठमाडौं उपत्यकाका संक्रमितमध्ये अहिलेसम्म २ सय ४६ जना निको भएर घर फर्किएका छन्। उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ४ र ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको हो।