सुर्खेत- कर्णाली प्रदेशमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। छिमेकी प्रदेश र तराईका जिल्लामा लक्षणसहितका संक्रमित बढ्न थालेको भन्दै प्रदेश सरकारले लकडाउन गर्ने तयारी गरेको हो।
प्रदेश सरकारले दोस्रो चरणमा लकडाउन गर्ने वा नगर्ने विषयमा विज्ञहरुसँग छलफल सुरु गरेको छ। सोमबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै पुनः लकडाउन गर्न सकिने संकेत गरेका छन्।
“तराई र छिमेकी प्रदेशहरुमा कडा लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्,” मुख्यमन्त्री शाहीले भने, “प्रदेशमा कडा लक्षणसहितका संक्रमित देखिएको खण्डमा पुनः लकडाउन हुन्छ।”
लक्षण सहितका संक्रमित भेटिएको खण्डमा कम्तीमा एक महिनासम्म लकडाउन गर्ने सरकारको तयारी छ।
यस्तै, छिमेकी जिल्ला कैलाली र तराईका जिल्लाबाट फर्कने नागरिकलाई विशेष निगरानीमा राखिने भएको छ। “जोखिमपूर्ण ठाउँबाट फर्केका नागरिकलाई हप्ता दिनसम्म विशेष निगरानी गर्छाैं,” मुख्यमन्त्री शाहीले भने, “कैलाली र तराईका जिल्लाबाट फर्कने हरेक नागरिकलाई पीसीआर परीक्षण गरेर मात्रै गाउँमा पठाउँछौं।”
कोरोना संक्रमण बढ्दै गएको खण्डमा कर्णाली प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिने भएको छ। “काठमाडौं प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने तर कर्णाली प्रवेश गर्दा किन नचाहिने?” मुख्यमन्त्री शाहीले भने, “तराई र छिमेकी जिल्लामा संक्रमणको दर बढ्दै गए पीसीआर भएमात्रै कर्णाली प्रवेश गर्न पाइन्छ।”
पीसीआर रिपोर्ट भएपछि मात्रै कर्णालीमा प्रवेश गर्न दिने र सीमा नाकाहरु सिल गर्ने सरकारको तयारी छ। यद्यपि तत्काल पीसीआर रिपोर्ट अनिवार्य गरिने छैन।
कोरोनाको जोखिम अझै बाँकी रहेको भन्दै सरकारले परीक्षणको दायरा बढाउने र हरेक जिल्लामा अक्सिजन प्लान्ट राख्ने योजना बनाएको छ।
संक्रमितको उपचारमा सहजता ल्याउन हरेक जिल्लामा अक्सिजन प्लान्ट राख्ने तयारी गरेको हो। अक्सिजन प्लान्ट राख्न सम्भावना नहुने जिल्ला भने सुर्खेतबाटै आपूर्ति गरिने छ। यस्तै, प्रदेशभर भेन्टिलेटरको संख्या कम्तीमा ५० र आइसीयू कक्षा एक सय पुर्याइने भएको छ। हरेक पालिकामा ५० बेडको आइसोलेसन सेन्टर र प्रत्येक वडाका क्वारेन्टिन यथावत राखिने छ।
परीक्षणको दायरा बढाउन प्रदेशमा थप तीन वटा ठूला क्षमताका मेसिन अर्थात् ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम’ मेसिन जडानको तयारी गरिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पामा कोरोना संक्रमितको संख्या शून्य छ।
कर्णालीमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको पीसीआर प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट पीसीआर परीक्षण गरिँदै आएको छ।