भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन्।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतिपछि उनले नतिजामुखी र उपलब्धिका सूचकहरु देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन्।
उनले भने, “बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ।”
पोखरेलले गत आर्थिक वर्ष धेरै अप्ठेरोबीच पनि राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद समेत दिए। उनले भने, “गत वर्ष राम्रो भएको छ। चालू वर्षमा अझै राम्रो हुने अपेक्षा छ।”
कोरोना भाइरस (कोभिड-१९)ले सृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९.२९ प्रतिशत भएको छ। त्यसैगरी, चालुतर्फ ६०.५४ प्रतिशत भएको छ। यो हिसाबले कुल खर्च ७०.०१ प्रतिशत भएको छ।
सिँचाइ र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्नसमेत मुख्यमन्त्री पोखरेलले निर्देशन दिए। उनले भने, “ठूला खालका जलाशय निर्माण गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढाऔं, ती आयोजनाले नतिजा दिन्छन्।”
उनले कोभिडको दोस्रो चरण आएकाले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिए। दोस्रो चरणमा लक्षण सहितका बिरामीको संख्या बढेकाले उनले आइसियुको क्षमता बढाउनुपर्ने बताए।
कोभिड-१९ का कारण धेरैको रोजगारी गुमेकाले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी सृजना गर्ने गरी काम अघि बढाउनुपर्ने मुख्यमन्त्रीको धारणा छ।