काठमाडौं– जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि निश्चित क्षेत्र लकडाउन गर्नेदेखि आवश्यक परे २१ दिनसम्म कर्फ्यु लगाउनेसम्मको सुझाव दिएका छन्।
बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी विज्ञहरुले संक्रमण बढेको स्थानमा सिल गर्ने सुझाव पनि दिएका छन्।
छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा समीरमणी दीक्षितले अन्य विज्ञहरुबाट लकडाउनदेखि कर्फ्यु लगाउनेसम्मका सुझाव आए पनि आफूले जोखिमका क्षेत्र छुट्याएर निगरानी गर्न र आवश्यक परे निश्चित क्षेत्रलाई लकडाउन गर्न सुझाव दिएको बताए।
'परीक्षणको दायरा बढाएर जोखिमयुक्त क्षेत्र छुट्याउने, मास्क लगाउन अनिवार्य गर्ने लगायतका सुझाव दिएको छुु,' उनले भने।
विज्ञहरूबाट लकडाउनमा कडाइ गर्ने, २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीले विषय विज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग करिब साढे चार घण्टा लामो छलफल गरेका थिए। विज्ञहरुले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएका छन्।
विज्ञहरुको सुझावपछि प्रधानमन्त्रीले विभिन्न सुझावहरू आएको र सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने बताएका थिए।
अहिले बढिरहेको संक्रमणलाई रोक्न तत्काल गम्भीर कदम नचाल्ने हो भने थप भयावह हुन सक्ने विज्ञहरुले बताएका छन्।
७ साउनदेखि सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेपछि स्थिति थप भयावह भएको भन्दै विज्ञहरुले नै लकडाउन गर्नुपर्ने र नभए केही समय कफ्र्यूसमेत लगाउन सुझाव दिदै आएका थिए।
वीरगन्ज, विराटनगर, बाँके, कैलाली, कञ्चनपुरसहितका क्षेत्रहरुमा अहिले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि सरकारले विज्ञहरुसँग आवश्यक छलफल थालेको हो। काठमाडौं उपत्यकामा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ।
छलफलमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाईसमेत बोलाएका थिए।
दुवै नेताहरुले पनि प्रधानमन्त्रीलाई संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न सुझाव दिएका छन्।