काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारका दोषिलाई कार्वाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
जनस्वास्थ्य विज्ञ र प्रमुख प्रतिपक्षि दलका नेताहरुसँग आज प्रधानमन्त्रीले बालुवाटारमा गरेको बैठकमा देउवाले प्रधानमन्त्रीलाई ७ बुँदे सुझाव दिएका छन्।
सुझावमा देउवाले स्वास्थ्य सामाग्री खरिदमा भएको घोटालाको ढाकछोप नगर्न भनेका छन्।
त्यस्तै आरडीटी परीक्षण पूर्णरुपमा रोक्न, प्रत्येक प्रदेशमा थप एकलाख व्यक्तिमा पीसीआर परीक्षणका लागि तत्काल बन्दोबस्त मिलाउन पनि उनले माग गरेका छन्।
गम्भीर अवस्थामा पुगेका संक्रमितको उपचारमा आवश्यक हुने औषधि रेमडिसिभरको आयात गर्न, आइसोलेसन वार्ड विस्तार गर्न, अस्पतालहरुमा थप भेन्टिलेटरको प्रबन्ध मिलाउनु पर्ने पनि कांग्रेसको माग छ।
पार्टीका तर्फबाट देउवाले क्वारेन्टिन ब्यवस्थापन, विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धारका लागि पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाका सिल गर्न, सुरक्षाका लागि मास्क लगाउन अनिवार्यसँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
उनले परिस्थिति अनुरुपको रणनीति निर्माणका लागि विज्ञसँग नियमित परामर्श गर्न र रणनीतिको चुस्त कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए।
‘विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस, विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस र बर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्’ कांग्रेसका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको सुझावमा भनिएको छ।