काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनिरहेका बेला पार्टीभित्रै केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेर गैरजिम्मेवारीपूर्ण काम गर्न खोजिएको टिप्पणी गरेका छन्।
बालुवाटारमा आज आयोजित जनस्वास्थ्यका विज्ञ तथा प्रतिपक्षी दलका नेताहरुसहितको छलफलमा उनले केही मानिस र संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिएको बताए।
‘केही मानिस र संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारीपन देखिन्छ। त्यो यथार्थ अन्त खोज्न पर्दैन, मेरै पार्टीमा हेरे हुन्छ। तुरुन्तै बैठक चाहियो भन्नुहुन्छ,’ ओलीले छलफलमा भने, ‘४५० जनाको केन्द्रीय कमिटी बैठक चाहियो भनिरहेका छन्। कहाँ बस्ने, कसरी बस्ने केही टुंगो छैन।’
उनले केही मानिस र संस्था भने पनि पार्टीका नेताहरुलाई लक्षित गर्दै देश र जनताप्र्रति लापरवाही र बेवास्ता गर्ने प्रवृति बढेको र आफ्नो स्वार्थ मात्रै हेर्ने प्रवृति हावी भएको बताए।
‘यो अन्यत्र पनि छ। सरकारको विरोध गर्ने प्रवृति मात्रै छ। जे गर्दा पनि विरोध मात्रै छ,’ ओलीले भने, ‘जोखिम बढिरहेको छ। जोखिम कम गर्नेतर्फ सरकारको ध्यान गइरहेको छ। अरुले पनि जिम्मेवार हुनुप¥यो।’
विदेशबाट ल्याउने क्रम र सीमाबाट आउने क्रम नरोक्दासम्म झन् असहज हुने भन्दै प्रधानमन्त्रीले आवश्यक रोकथाम र नियन्त्रण गर्न नसके झनै भयावह हुन सक्ने संकेत गरे।
सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो। प्रधानमन्त्रीले अहिले सञ्चारमाध्यमले पनि सकारात्मकभन्दा सरकारले केही गर्दै नगरेको झैँ गरेर प्र्रस्तुत हुने क्रम बढेको बताए।