काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीहरुको कोरोना भाइरस परीक्षणका लागि नमुना संकलन थालेको छ।
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज त्यहाँ कार्यरत सुरक्षाकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न थालेको हो।
प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी र सभामुखको सचिवालयमा कार्यरत प्रहरीमा समेत कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीको सरकारी निवासका सुरक्षाकर्मी र कर्मचारीको पनि परीक्षण गर्न लागिएको हो।
अख्तियारमा कार्यरत प्रहरी र केही कर्मचारी गरेर १५ जनामा संक्रमण पुष्टि भएको छ। उता, प्रहरी प्रधान कार्यालयभित्रै कार्यरत ७२ जना प्रहरीमा संक्रमण भइसकेको छ।