काठमाडौं- नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि अब चाल्ने कदमका विषयमा रणनीति बनाउन प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञहरुसँग छलफल शुरू गरेका छन्।
बालुवाटारमा अहिले बिहान साढे ११ बजेबाट प्रधानमन्त्री र विज्ञहरुको छलफल शुरू भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। संक्रमणको अहिलको अवस्था र भोलीको रणनीति कसरी अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले परामर्श शुरू गरेका हुन्।
छलफल दोस्रो चरणको लकडाउन गर्ने वा संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्य विकल्पमा जाने भन्ने विषयमा केन्द्रित छ ।
छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलगायतका नेताहरु पनि सहभागी छन् ।
विज्ञ र नेताहरुको सुझावका आधारमा सरकारले अबको रणनीति तय गर्ने भएको छ। पर्सा, बारा र धनुषा, बाँके, कपिलवस्तु, मोरङ, सुनसरी र काठमाडौं उपत्यकामा पनि संक्रमण तिब्र गतिमा फैलिएको छ ।
सोमबार मात्रै ४ सय १८ जना नयाँ संक्रमित थपिएका थिए । थपिएका आधाभन्दा धेरै लक्षणसहितका संक्रमित छन् । लक्षणसहितका संक्रमित बढेपछि जनस्वास्थ्यविद् चिन्तित बनेका छन् । धेरै ठाउँमा संक्रमण समुदायस्तरमा फैलिएको आकलन गरिएको छ ।
सरकारले नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि ११ चैत २०७६ देखि लकडाउन गरेको थियो। ६ साउन राति १२ बजेदेखि लागू हुने गरेर लकडाउन हटाइएको थियो।
नेपालमा आजसम्म २० हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। हालसम्म ५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।