कोरोनाको उच्च जोखिम भएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सोमबार रातिदेखि १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
प्रजिअ भट्टराईले निषेधाज्ञाको समयमा तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउनेसमेत जानकारी दिए। उनले कोरोना सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका बन्द गरिएको बताए।
प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई भने अत्यावश्यक सेवा राखी कार्य गर्न उल्लेख गरेको छ ।
यस आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।