पोखरा– पूर्वमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेले ३ करोड रुपैयाँभन्दा बढी रकमको छात्रृत्ति घोषणा गरेका छन् । पाल्पामा जन्मेर कास्कीलाई कर्मथलो बनाएका पाण्डेले समृद्ध नेपाल बनाउने लक्ष्यका साथ दक्ष जनशक्ति उत्पानका लागि उक्त छात्रवृत्ति घोषणा गरेका हुन् ।
पाण्डेले ३ करोड ७९ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष सञ्चालन गरेको बताए । मातृभूमि र कर्मभूमिको भार तिर्न यस्तो खालको अभियान सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनका अनुसार अहिलेसम्म ४ सय २६ जनाले छात्रवृत्ति पाइसकेका छन् ।
मातृभूमि छात्रवृत्तिका नाममा पाल्पाका स्थानीय तहका सबै वडामा उनले प्राविधिक शिक्षाका लागि रकम प्रदान गरिसकेका छन् । अब कास्कीका सबै वडामा पनि यसै वर्षबाट छात्रवृत्ति कार्यक्रम सञ्चालन हुने पाण्डेले बताए । प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उनको भनाइ थियो ।
छात्रवृत्ति व्यवस्थापनको जिम्मा पाल्पाली समाज पोखराले लिएको छ । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले निष्पक्ष रुपमा विद्यार्थीको छनोट गरी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वमन्त्री पाण्डेले छात्रवृत्ति घोषणासँगै ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक पनि सार्वजनिक गरे ।