काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा लागेका तीन वटा ताला प्रहरीले फुटाएको छ।
उच्च अदालत पाटनको आइतबारको अल्पकालीन आदेशअनुसार प्रशासनले ताला खोलेको हो।
त्रिविका रेक्टर प्राध्यापक डाक्टर शिवलाल भुसालले सेवाग्राहीले अदालतमा मुद्दा हालेको र ताला खोल्न आदेश आएपछि जिल्ला प्रशासनले प्रहरी लगाएर ताला फोरेको जानकारी दिए।
त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा नेविसंघले १५ दिनअघि, प्रजातन्त्रवादी प्राध्यापक संघले दुई हप्ताअघि र समाजवादी प्राध्यापक संघले एक हप्ताअघि ताला लगाएका थिए।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले त्रिविका उपकुलपतिलाई बुझाएको ३३ बुँदे मागको बेवास्ता गरेको भन्दै उपकुलपति, रेक्टर, रजिष्ट्रार र सेवा आयोगको कार्यकक्षमा ताला लगाएको थियो।
त्रिविका पदाधिकारीहरू जायज माग राख्दा पनि वार्ता नगरी पन्छिन खोजेको प्राध्यापकहरूको आरोप छ। उनीहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेका थिए।